अन्तर्राष्ट्रिय आप्रवासन अझ बढ्दो !
काठमाडाैं । संयुक्त राष्ट्र सङ्घको विश्व आप्रवासन प्रतिवेदन – २०२४ सार्वजनिक गरेको छ ।
विश्व आप्रवासन प्रतिवेदन – २०२४ अनुसार अन्तर्राष्ट्रिय आप्रवासन मानव विकास र आर्थिक वृद्धिको सञ्चालक हो । २०२२ मा विश्वमा अनुमानित २८ करोड १० लाख अन्तर्राष्ट्रिय आप्रवासी थिए। यो प्रतिवेदन संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले तयार पारेको हो ।
आप्रवासीहरूले पठाएको पैसा
प्रतिवेदनले सन् २००० देखि २०२२ सम्म आप्रवासीहरूले आफ्नो देशमा पठाएको रकम ६५० प्रतिशतले बढेको देखाएको छ । सन् २००० मा यो रकमको कुल मूल्य १२८ अर्ब डलर थियो भने सन् २०२२ मा यो रकम बढेर ८३१ अर्ब डलर पुगेको छ ।
कम आय भएका देसलाई फाइदा
उक्त ८३१ अर्ब डलरमध्ये ६४७ अर्ब डलर कम र मध्यम आय भएका देशहरूमा पठाइएको थियो । आईओएमका अनुसार त्यो रकम त्यस्ता देशको कुल गार्हस्थ्य उत्पादनको महत्त्वपूर्ण हिस्सा बन्न पुग्छ । यो रकमले विश्व स्तरमा त्यस्ता देशमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) लाई पछाडि पारेको छ ।
आप्रवासीमा पुरुष बढी
विगत २० वर्षदेखि आप्रवासीहरूबिचको लैङ्गिक अन्तर बढ्दै गएको छ र अहिले अन्तर्राष्ट्रिय आप्रवासीहरूमा महिलाको तुलनामा पुरुष बढी छन्। सन् २००० मा अन्तर्राष्ट्रिय आप्रवासीहरूमध्ये ५०.६ प्रतिशत पुरुष र ४९.४ प्रतिशत महिला थिए। यद्यपि २०२० मा पुरुषको सङ्ख्या ५१.९ प्रतिशत (१४.६ करोड) पुग्यो ।
आप्रवासीहरूको रोजाईको देश
अमेरिका अन्तर्राष्ट्रिय आप्रवासनका लागि सबैभन्दा ठुलो गन्तव्य देश हो। त्यसपछि जर्मनी, साउदी अरेबिया, रुस, बेलायत र त्यसपछि युएई आउँछन् । चाखलाग्दो कुरा के छ भने युरोपेली देशहरूका साथै अमेरिका र क्यानडा छनोट गर्ने आप्रवासीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी छ ।
भारतबाट सबैभन्दा बढी आप्रवासी
आफ्नो देश छोडेर अन्य देश जाने आप्रवासीहरूमा सबैभन्दा बढी भारतीयहरू छन्। सन् २०२२ मा भारत छोड्ने अन्तर्राष्ट्रिय आप्रवासीको सङ्ख्या करिब १.७० करोड थियो। जसमध्ये करिब ६० लाख महिला र बाँकी पुरुष थिए।
विस्थापन बाध्यता
प्रतिवेदनमा विश्वभर द्वन्द्व, हिंसा, प्रकोप र अन्य कारणबाट विस्थापित हुनेहरूको सङ्ख्या ११ करोड ७० लाख पुगेको दाबी गरिएको छ, जुन आधुनिक युगमा सबैभन्दा ठुलो सङ्ख्या हो ।
प्रतिक्रिया