बाढीपहिरो प्रभावितलाई प्रजिअ श्रेष्ठद्वारा रकमसहित सामग्री वितरण

नेपालखोज २०८१ असोज २४ गते ८:२९

भक्तपुर । यहाँको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले हालैको बाढीपहिरो तथा डुबान प्रभावितलाई सरकारले उपलब्ध गराएको रु तीन लाख रकमसहित अन्य सामग्री वितरण गरेकी छन् ।

पहिरोमा पुरेर घरभित्रमा परी ज्यान गुमाएका मृतकका आफन्तलाई सङ्घीय विपद् व्यवस्थापन कोष र प्रदेश विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराएको राहत रकमसहित राहत सामग्री लिएर उनी आफैँ पहिरोपीडितको बासस्थान पुगेकी हुन् ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रजिअ श्रेष्ठले सूर्यविनायक नगरपालिका–८ स्थित आशापुरी नैचालमा पहिरोमा परेर मृत्यु भएका प्रतिमा तामाङका परिवारलाई रु तीन लाख र मृतक सुकुमाया तामाङको श्रीमान् तथा छोराहरुलाई रु तीन लाख नगद हस्तान्तरण गरेका हुन् ।

यही असोज १२ गतेकै पहिरोमा परेर कालीकोट सानो त्रिवेणी–५ घर भई सूर्यविनायक –९ पलाखे बस्ने मृतक दमिला शाही र निजको छोरी प्रिया बमको दुई जनाको परिवारलाई रु तीन लाख गणेश बमको बैंक खातामा जम्मा गरिदिएको प्रजिअ श्रेष्ठले जानकारी दिइन् ।

त्यस्तै पहिरोमा परेर घाइते हुनुभएका सानु तामाङ र कान्छा तामाङको भने भक्तपुर अस्पतालमा निःशुल्क उपचार गरी राहतस्वरुप रु १५ हजार राहत रकम उपलब्ध गराएको उनले जानकारी दिए । मृतक परिवारलाई प्रजिअ श्रेष्ठले मृतक परिवारलाई तत्काल बासस्थानका निर्माणका लागि दुईवटा टेण्डर, तीनवटा त्रिपाल र भाँडाकुँडा दुई सेट हस्तान्तरण गर्नुभएको छ ।

त्यसैगरी सूर्यविनायक नगरपालिकाले पनि सोही पहिरोमा परी ज्यान गुमाउने पाँच जनाकै परिवारलाई रु एक लाखको दरले राहत रकम प्रदान गरेको छ ।

नगर प्रमुख वासुदेव थापाको नेतृत्वमा उपप्रमुख सरिता भट्टराईसहित गएका जनप्रतिनिधि टोलीले पीडितका बासस्थानमै पुगेर तामाङ परिवारलाई जनही रु एक लाखको दरले रकम हस्तान्तरण गरेका हुन् ।

विस्थापितलाई टेन्ट र भाँडाकुँडा वितरण गरिइएको थियो । जिल्लामा ४० घर अझै पहिरोको उच्च जोखिममा रहेको जनाउँदै सात घरपरिवारलाई अन्यत्रै सारिएको प्रजिअ श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया