शुक्रबार, कार्तिक २३, २०८१

आज साँझ कुछिभ्वय !

सुनील उलक २०८१ असोज २४ गते १२:२१

नेवाःहरुको भिन्न तथा सांस्कृतिक विशेषता बोकेको भोज । नेवारहरुको मोहनी नख:को महत्वपूर्ण दिन कूछि भ्वय नेवा: परम्परा अनुसार मोहनी नखःको अष्टमीको दिन कूलका सबै परिवार एकै ठाउँमा जम्मा भएर कूलछि भ्वय खाने गरिन्छ ।कूलछि भ्वयलाई बोलिचालिमा कूछिभ्वय भन्ने गरिन्छ । खासगरी नेवा:हरुको मोहनी नखःको शुरुवात सप्तमीको बिहान राँगोको मासु भित्राए पछि शुरु हुन्छ । यस दिन गुठीमा वा समुह मिलेर काटिएको राँगोको भाग सबैलाई बराबर बाँडिन्छ ।यसरी बाँडिने भागमा सबै किसिमको मासुको परिकार हुने गर्छ । यो मासु घरमा भित्राउने बेलामा मूल ढोकामा पुगेपछि एकैछिन बिसाउनुपर्छ । यहि मूलढोकामा बसेर मासुको सानो सानो तीन टुक्रामा एक टुक्रा दाँया तर्फ देवतालाई चढाउनुपर्छ ।

बाँया तर्फ पितृलाई चढाउनुपर्छ । अर्को एक टुक्रा शिर नघाएर पछाडी चढाइन्छ । यो टुक्रा पिखालखुको लागि चढाउने गरिन्छ, जुन घरका रक्षकका रुपमा हाम्रो मूलढोका अगाडि हामीले स्थापना गरेका हुन्छौं । यसरी मासु भित्राएपछि बिहान समयवजी खाने गरिन्छ ।

यस दिन खासै भोज खाने चलन हुदैन । सप्तमीको दिन भित्राइएको मासुको परिकार बनाएर अष्टमीको दिन भोज खाने चलन छ । अष्टमीको बिहान समयवजी खाने गरिन्छ । समयवजीको भाग मूलढोका अगाडि रहेको पिखालखुमा पनि चढाउने गरिन्छ । अष्टमीको राती हरेक नेवा:हरुको घरमा ‘कुछिभ्वय’ खाने गरिन्छ ।

कुलको सबै सदस्यहरु मिलेर लाइनै बसेर खाने भोज भएको हुँदा ‘कूलछिभ्वय’ भनिएको हो । तर पछि अप्रभंश भइ ‘कुछिभ्वय’ भन्न थालियो । यो भोज नेवार परम्परामा बिशेष महत्व राख्ने गर्छ । यस भोजमा कूलका कुनै सदस्य उपस्थित हुन सकेन भने पनि उसको स्थानमा ब्वः (भाग) राख्नुपर्छ । साथै विवाहित दिदीबहिनीहरुको ब्वः राखेर भोलीपल्ट उनीहरुको घरमा छोड्न जानुपर्ने परम्परा छ ।

तर अचेल खासै त्यस्तो गरेको देखिदैन । साथै अर्को महत्वपूर्ण कुरा कुछिभ्वय कुनै पनि साल जस्तोसुकै अवस्थामा पनि छुटाउनु हुदैन भन्दै परिवारको सदस्यको मृत्यु भइ मोहनी नख नै मनाउन नहुँदा पनि कुछिभ्वय भने खानपर्छ भन्ने परम्परा छ ।

यदि कुछिभ्वयकै दिन परिवारको कुनै सदस्यको मृत्य भएमा पनि दाहसंस्कार समाप्त गरिसकेपछि अदुवालाई मासुको रुपमा तथा मासको व:को ठाँउमा केराउको व: बनाएर भोज खाने गरिन्छ । कुछिभ्वयको ब्वः लगाउँदा सबैभन्दा पहिले द्यः ब्वः (देवताको भाग) लगाउनुपर्छ । द्यःब्वः तथा आगंब्वः (आगनमा पिखालखुको भाग) लगाइसकेपछि परिवारको संख्या बराबर ब्वः लगाउनुपर्छ । कुछिभ्वयको भाग लगाउँदा केराको पात (म्वाय् लप्ते)मा राखिन्छ । यदि केराको पातको ठाउँमा सालको पात (धुसला लप्ते)मा पनि खान सकिन्छ ।

धुसला लप्ते बुन्नका लागि समय चाहिने तथा लप्ते बनाउने बिशेष बिधि हुने गर्छ । धुसला लप्ते बनाउँदा सकेसम्म नबिग्रिएको सालको पात रोज्नुपर्छ । यसरी रोजेर छुट्याइएको पात मध्य केही ठूलो तीनवटा पात बिचमा मिलाएर पहिलो गोलघेरा बनाउनुपर्छ ।

पहिलो तीन पात ब्रम्हा, विष्णु तथा महेश्वरको प्रतिक हो । पात बुन्दा बाँसको सिन्काको प्रयोग गरिन्छ । पहिलो तीनवटा पात बाहिर पाँचवटा पातले उनेर अर्को घेरो बनाउनुपर्छ । तेश्रो घेरोमा आठवटा पातको प्रयोग गरिन्छ ।

यसरी भोज खान तैयार गरिने पातमा जम्मा १६ वटा सालको पात मात्र प्रयोग गरिनुपर्दछ । र यो १६ वटा पात उनेर बनाउँदा ८४ वटा सिन्काको प्रयोग गरिनुपर्छ । तीन पात पछि राखिने पाँच पात पाञ्चायनको प्रतिक हो भने बाहिरको आठवटा पात अष्टमातृकाको प्रतिक हो । ८४ सिन्का चौरासी ब्यञ्जनको प्रतिक हो ।

यसरी तैयार भएको सालको पातमा भाग लगाउने चलन रहेको छ । तर सहजताका लागि केराको पातमा भाग राख्ने गरिन्छ । भोजका पनि आफ्नै नियमहरु हुने गर्दछ । तर अचेल आफू खुशि परिकारहरु खाने गरिँदा भोज खाएर पेट दुख्यो वा विमार भयो भन्ने गरिन्छ ।

भोज जसरी खाए पनि हुन्छ तर क्रम मिलाएर खाँदा सहजै पच्ने र तागतिलो पनि हुन्छ । अन्यथा केवल पेट भर्न मात्र खाने हुन्छ । तसर्थ भोज खाँदा मन परेको परिकार थपि थपि खाने होइन सबै परिकार मिलाएर खान जान्नुपर्छ । यसो गर्दा भोजले कुनै खरावी गर्दैन । भोज कसरी खाने, के के खाने तथा कति खाने भन्ने छुट्टै विवरण लेखिएको पुरानो थ्यासफूहरु भेटिन्छ ।

परिवारका सबै सदस्यहरु जेष्ठता क्रमको आधारले लहरै बसेपछि प्रत्येकको अगाडि केराको पात(म्वाय् लप्ते)मा राखिन्छ । क्रमश सबै भागमा सबैभन्दा पहिले च्यूरा राखिन्छ । कतै कतै कुछि भ्वयलाई दुइमाना च्यूरा खानुपर्छ भन्दै कुरुवाले च्यूरा भरेर भाग लगाउने पनि गरिन्छ ।

च्यूरा पछि एउटा कुनै अचार र दयके लाँ (झोल भएको पकाएको राँगोको मासु) राखिन्छ । यसको साथै मासको व: (माय् व:), तारेको हाँसको अण्डा, फलफुलको टुक्रा, सुकाएको माछा, पकाएको फर्सी, भुतेको बोडी, केराउ, हरियो साग, मासुको परिकार, थ्वं (जाँड) , आदी सबै खानेकुरा राखेपछि कुछिभ्वे तैयार हुन्छ ।

भनिन्छ खानेकुराहरु कम्तिमा १२ प्रकारको हुनुपर्छ । साथै भागमा राखिने छ्वयलाको संख्या पनि १२ नै हुनुपर्छ । नेवा:हरुको वास्तविक कुछिभ्वयमा भने सबै खाने सामग्री एकसाथ राखिदैन । क्रमश राख्ने गरिन्छ । शुरुमा च्यूरा, झोल भएको मासु र अचार राखिन्छ । यो खाँदै गर्दा बिचमा च्यूरा थप्न आँउछ । च्यूरा थपिए पछि झोल भएको अन्य तरकारीहरु राखिन्छ । यसमा आलुको तरकारी, सिमी, बोडी, तथा फर्सीको तरकारीहरु हुने गर्छ ।

यो मासु नखानेहरुको लागि बिशेष रुपले बनाइएको हुन्छ । यस पछि भने त:कू ला राखिन्छ । शुरुमा राखिने झोल भएको मासुमा सानो सानो टुक्रा हुन्छ । जसले गर्दा सो शुरुको मासुलाई चिकु ला भनिन्छ तर पछि राखिने मासुमा भने ठूलो ठूलो टुक्रा बनाइएको हुँदा यसलाई त:कू ला भनिन्छ । यो मासु बिशेष प्रकारले बनाइएको हुन्छ ।

झोल नहुने तथा दहि राखेर धेरै बेरसम्म पकाएर बनाइन्छ । त:कू ला भने परिवारको हैसियत अनुसार दुइ प्रकारको पनि बनाइन्छ । एउटा राँगोको अर्को बोकाको । यो संगै भुटुवा, छ्वयला, नलु, हिघासा, क्वेँ जस्ता मासुका अन्य परिकारहरु पनि आउने गर्दछ । नेवा:हरुको हरेक भोजमा रक्सी तथा जाँड खाने प्रचलन परापूर्वकाल देखि नै रहेको छ । तसर्थ मासुको साथमा रक्सी पनि दिने गरिन्छ ।

पुरुष सदस्यलाई रक्सी (अयला) र महिला सदस्यहरुको लागि जाँड(थोँ) दिने गरिन्छ । रक्सी र जाँड बिशेष प्रकारको सलीमा दिने गरिन्छ । रक्सी सानो सलीमा राखिन्छ भने जाँड केही ठूलो सलीमा राखिन्छ । सली माटो वा ढलोटको हुने गर्दछ । मुख फराकिलो हुने भाँडोलाई सली भनिन्छ ।

त:कू ला पछि भने वाउँ चा ल्याउने गरिन्छ । वाउँ चा भनेको हरियो सागसब्जी हो । वाउँ चा आउनु अगाडि कुनै पनि परिकार थप्दै खान सकिन्छ । तर वाउँ चा आएपछि भोज अन्तिम भयो भन्ने बुझ्नुपर्छ । वाउँ चा पछि भने कुनै पनि परिकार थप्नको लागि अनुरोध गर्न पाइदैन । हरियो साग पछि पाउँ क्वा वा मी क्वा आउँछ । लब्सीबाट बनाइने पाउँ क्वा तातो वा चिसो दुइ प्रकारको हुने गर्दछ । यहि लब्सीको झोलमा मेथी झानियो भने त्यसलाई मी क्वा भनिन्छ ।

खासमा यो पाउँ क्वा खानेकुरा पचाउनको लागि महत्वपूर्ण हुने हुँदा भोजको करिव करिव अन्तिममा दिने गरिन्छ । यो अमिलोले रक्सिको नशालाई पनि कम गराउन गर्दछ । अचेल भने सबै परिकार एकैसाथ राखिदिने तथा थाहा नपाइकन सबै मिसाएर एकसाथ खाने गरिएको पाउँछौ । यसपछि दही दिने गरिन्छ ।

दही बाँड्न आँउदा भने इच्छा अनुसारको च्यूरा पनि राखिने गरिन्छ । तर दहीसँग इच्छा नलागेकोले दही मात्र पनि खान सकिन्छ । दही राख्ने बेलामा पनि जेष्ठता क्रममा नै राख्ने गरिन्छ । दही शुभमंगलको पनि प्रतिक भएको हुँदा शुरुमा खाने ब्यक्ति भाग्यमानी हुने हुँदा कहिले काँही परिवारको कुनै एक सदस्यलाई सबैभन्दा पहिले दही दिएर पनि उसले चाहेको पुरा होस भनेर शुरुमा दिने पनि चलन यदाकदा भेटिन्छ । दही पछि सिसाफुसा ल्याइन्छ ।

सिसाफुसा भनेको फलफूल काटेर टुक्रा टुक्रा बनाइएको हो । तर फलफूलको साथमा भिजाइएको केराउ र काटेको मुला पनि हुने गर्छ । सिसाफुसासँग अन्तिम पटक रक्सी तथा जाँड पनि राख्ने गरिन्छ । यसपछि बल्ल कुछिभ्वय समाप्त हुन्छ । कुछि भ्वय समाप्त भएपछि दाँत कोट्याउने सिन्को दिने चलन रहेको छ ।

यसपछि बाटा र पानीको भाँडा लिएर हरेेकको मुख चुठ्ने कार्य हुन्छ । यसपछि ल्वाङ, सुकुमेल, दालचिनी तथा सुपारीहरु दिने गरिन्छ । यसपछि बल्ल खाने कार्य समाप्त हुन्छ । कुछिभ्वय खान सकिए पछि जो मन लाग्यो उहि जुरुक्क उठ्न पाइदैन । सबैभन्दा जेष्ठ सदस्य उठिसके पछि मात्र उठ्न पाइन्छ ।

साथै आफ्नो दाँया बाँया बस्ने दाइ भाइ वा दिदीबहिनीलाई म उठ्छु है भनेर अनुमति लिएर मात्र उठ्न पाइन्छ । बीचमा उठ्नु पर्दा सबैभन्दा पहिले जेष्ठ सदस्यसंग अनुमति लिनुपर्छ । त्यसपछि आफ्नो दाँयाबाँया बसेकोसँग अनुमति लिएपछि मात्र उठ्न पाइन्छ । यसरी कुछिभ्वय समाप्त हुन्छ । कुछिभ्वयको भोलिपल्ट ‘स्याक्वत्याक्व’ भनिन्छ ।

प्रतिक्रिया