बीस पैसाकाे सिक्का !
काठमाडाैं । नेपालमा बीस पैसे सिक्का पहिलो पटक वि.सं. १९८९ मा राजा त्रिभुवनको पालामा छापिएको थियो । हुन त राजा त्रिभुवनको समयमा चौथाइ पैसा (एक दाम), आधा पैसा, चार पैसा, १ आना (६ पैसा) जस्ता भिन्न सिक्काहरु पनि छापिएका थिए ।
वि.सं. १९८९ देखी २०१० सालसम्म पृष्ठभागमा बिचमा ठूलो त्रीशुल भएको २० पैसे सिक्का छापिएको थियो । शुरुको सिक्का हल्का मोटो भए पनि त्यसपछि २००४ सालसम्म निस्केका सिक्का भने केही सानो थियो ।
यो अवधीमा १९९० र २००२ सालमा भने २० पैसाको सिक्का छापिएन । २००५ साल र २००८ सालमा छापिएन तर १० साल सम्म निष्काशित सिक्का भने थोरै ठूलो थियो ।
२०१० र २०११ सालमा भने भिन्न डिजाइनको २० पैसे सिक्का छापियो । माथि अर्ध गोलो गरेर नेपाल सरकार लेखिएको थियो भने बिचमा हिमालमा सूर्योदय भएको दृश्यमा दाँया बाँया धानको बालाले घेरेको थियो ।
तल छापिएको साल लेखिएको थियो । पछाडि भने कमलको फूल माथि गोलो घेरा भित्र हिमाली दृश्य, नदी तथा बीचमा खुकुरी राखिएको थियो । माथि नेपालीमा विस पैसा लेखिएको थियो । राजा त्रिभुवनको मृत्यु पछि राजा महेन्द्रको समयमा कुनै पनि किसिमको २० पैसे सिक्का छापिएन ।
राजा वीरेन्द्रको समयमा २०३५ र २०३६ मा दुइ पटक २० पैसे सिक्का छापियो । २०३५ सालमा कलश तथा खड्ग भएको सिक्का २,३४,००० थान निष्काशन भएको हुँदा यो धेरै नै पाइन्छ तर अन्तराष्ट्रिय बाल वर्षको सिक्का केवल ३०,००० थान निष्काशन भएको हुँदा केही दुर्लभ छ ।
प्रतिक्रिया