विश्वभर हरेक चौथो दिन एक पत्रकारको हत्या : युनेस्को
काठमाडाैं । युनेस्कोले जारी गरेको प्रतिवेदनअनुसार अघिल्ला दुई वर्षको तुलनामा २०२२-२३ मा पत्रकार हत्याका घटना ३८ प्रतिशतले बढेको छ भने अधिकांश घटनामा दोषीलाई सजायसमेत हुन सकेको छैन।
प्रतिवेदन अनुसार काम गर्ने क्रममा १६२ पत्रकारले ज्यान गुमाएका छन्। युनेस्कोका महानिर्देशक अड्री अजौले भन्छन् – २०२२ र २०२३ मा हरेक चार दिनमा एक पत्रकारलाई उसको कामका कारणले मारिएको थियो ।
सबैभन्दा धेरै हत्या कहाँ ?
मेक्सिकोमा सबैभन्दा बढी पत्रकारको हत्या भएको छ, जहाँ २०२२ मा १९ पत्रकार मारिए भने २०२३ मा प्यालेस्टिनी क्षेत्रमा २४ जना पत्रकारले ज्यान गुमाए ।
ल्याटिन अमेरिका र क्यारिबियन देशहरूमा सबैभन्दा धेरै पत्रकारको हत्या भयो जहाँ दुई वर्षमा ६१ जना पत्रकार मारिएको सुचना छ । जबकि उत्तर अमेरिका र पश्चिमी युरोप सबैभन्दा कम खतरनाक क्षेत्र मानिए जहाँ ६ जना पत्रकार मात्र मारिए।
२०२२-२३ मा मारिएका पत्रकारहरूमा १४ महिला तथा १५ देखि २४ वर्षका कम्तीमा पाँच पत्रकार थिए।
मारिएका अधिकांश पत्रकार द्वन्द्वग्रस्त क्षेत्रमा कार्यरत थिए। त्यस्ता ईलाकामा ४४ वटा हत्या भएका थिए जुन त्यस वर्षको कुल हत्या संख्याको ५९ प्रतिशत हो ।
हत्याका कारण
प्रतिवेदन अनुसार अधिकांश पत्रकार संगठित अपराध वा भ्रष्टाचारमा काम गरिरहेका वा विरोध प्रदर्शनको रिपोर्टिङमा संलग्न भएका कारण मारिएका छन्।
ल्याटिन अमेरिका र क्यारेबियन बाहेक अरब देशहरू पनि पत्रकारका लागि सबैभन्दा खतरनाक क्षेत्रका रूपमा परेका छन्।
सुनुवाइ हुँदैन
प्रतिवेदन भन्छ – यस्ता हत्या सम्बन्धी अधिकांश मुद्दामा दोषीहरु दण्डित हुँदैनन्। कैयन देसले युनेस्कोलाई दिएको जवाफ अनुसार २००६ यता ८५ प्रतिशत यस्ता मुद्दा या त समाधान हुन सकेका छैनन् वा परित्याग गरिएका छन् । अजुल भन्छन्, ‘यस्ता अपराधमा पक्कै सजाय हुनुपर्ने हो तर ८५ प्रतिशत मुद्दामा स्थिति निराशाजनक छ ।
युनेस्कोको यो द्विवार्षिक प्रतिवेदनले विश्वभरका पत्रकारहरूको सुरक्षा अवस्थाको विश्लेषण गर्छ । संस्थाले पत्रकार हत्याका घटनामा दोषी ठहर नहुने केसलाई लिएर वार्षिक प्रचार अभियान सञ्चालन गर्दै आएको छ। यो वर्षको नोभेम्बर ६ अर्थात भोलि बुधबार इथियोपियाको राजधानी अदिस अबाबामा यो वर्षको अभियानको शुभारम्भ हुनेछ।
एफपी/डीपीए
प्रतिक्रिया