सोमबार, मंसिर २४, २०८१

टीकापुरलाई ‘जिरो स्नेक किलिङ’ नगर बनाउन लागिपरेका लक्ष्मण

नेपालखोज २०८१ कार्तिक २३ गते ७:४८

घोडाघोडी (कैलाली) । जिल्लाको टीकापुरमा सर्प देख्नेबित्तिकै सम्झने एउटा नाम हो– लक्ष्मण उपाध्याय । स्थानीयहरू सर्प देख्नेबित्तिकै लक्ष्मणलाई बोलाउने गर्छन् । टीकापुरका लक्ष्मण जुनसुकै बेला पनि जिल्लाका विभिन्न स्थानमा सर्प उद्धार गर्न पुग्छन् । कैलालीमा मात्र नभई सुर्खेत, सल्यान, कोहलपुर, बर्दियालगायत स्थानसम्म सर्प उद्धार गर्न पुग्ने गरेको उनले बताए ।

दसैँ र तिहारमा पनि उनलाई सर्प उद्धार गर्न भ्याइनभ्याई थियो । सबै जना तिहारको टीका लगाइरहँदा उनी भने सर्प उद्धार गर्न व्यस्त थिए । भाइटीका लगाउँदै थिएँ, टीकापुर–५ मनिकापुरमा सर्प उद्धारका लागि खबर आयो, हतारहतार टीका लगाएर गएँ । राम्रोसँग भाइटीका लगाउन नपाएका उनले त्यो दिन विषालु गोमन सर्प र धामन सर्पको उद्धार गरे । दसैँको समयमा पनि उनले ३० भन्दा बढी सर्पको उद्धार गरे । यो समयमा सर्पको बिगबिगी हुने गरेका कारण चाडपर्वमा समेत फुर्सद नभएको उनले बताए ।

उपाध्यायले सर्प उद्धार गर्दै आएको चार वर्ष पुगिसकेको छ । हालसम्म दुई हजार दुई सय ३६ वटा सर्पको उद्धार गरेको उनले बताए । गोमन, करेत, ब्यान्डेट करेतदेखि लिएर धामन, पानी सर्प र अजिङ्गरलगायतको उद्धार गरेको उनले बताए । उद्धार गरिएको धेरैजसो विषालु सर्प छन् । विसं २०७७ जेठतिर पहिलोपटक सर्प नचिनेर उद्धार गरेको सम्झँदै उनी भन्छन्, ‘साथीहरूले मजाक गरेर सर्प उद्धार गर्ने नयाँ मान्छे भेटियो भनेर सामाजिक सञ्जालमा हाले । सबैले त्यसमा राम्रो कमेन्ट गर्नुभयो, त्यो मेरो प्रेरणा बन्यो । दोस्रोपटक घरमा करेतको उद्धार गरेँ, त्यो सर्प पनि नचिनेरै उद्धार गरेको थिएँ । दुई वर्ष अगाडि पनि पूर्ण रूपमा सर्प चिन्दैनथेँ, उत्प्रेरणा नै सबैभन्दा ठूलो कुरा रहेछ, अहिले यहाँसम्म आएँ ।’

लक्ष्मणले यो कार्य स्वेच्छाले गर्दै आएका छन् । उनको एउटै उद्देश्य छ– टीकापुरलाई ‘जिरो स्न्याक किलिङ’ नगर बनाउने । उनी भन्छ, ‘मैले काम सुरु गर्दा सडकमा सर्प मारेर फालेको भेटिन्थ्यो अहिले त्यो हटेको छ ।’ टीकापुरलाई ‘जिरो स्न्याक किलिङ’ नगर बनाउने उद्देश्यअनुरुप सर्पको उद्धारसँगै सर्पको महत्त्व, संरक्षणबारे समुदायस्तरमा चेतना फैलाउँदै आउनुभएको छ । कसैको पनि कुनै सहयोगबिना आफूले यो काम गरिरहेको बताउँदै उनले भने, ‘कसैको सहयोगले मात्र काम गर्नुपर्छ भन्ने हुँदैन, आफ्नो इच्छाले गरिरहेको छु । मैले गरेको कार्यले सर्पको पनि उद्धार भइरहेको छ र मान्छेमा सर्प मार्नु हुँदैन भन्ने चेतना पनि फैलिरहेको छ, यसैमा म सन्तुष्ट छु ।’

विभिन्न सरकारी तथा निजी विद्यालय, क्याम्पसमा पुगेर सर्प उद्धार, सर्पदंश र सर्प संरक्षणबारे कक्षा पनि सञ्चालन गरिसकेको उपाध्यायको भनाइ छ । कक्षामा बसेका कतिपय सर्प उद्धार गर्न सक्ने भइसकेको बताउँदै उनी भन्छन्, ‘मजस्तै सर्प उद्धार गर्ने र चेतना फैलाउने अरु पनि बनाउन चाहन्छु ।’ उनले गरेको कार्यले समुदायमा परिवर्तन हुँदै गएको छ । उनले भने, ‘पहिले सर्प देख्नेबित्तिकै मार्ने गरिन्थ्यो तर अहिले उद्धारका लागि बोलाउँछन् । विभिन्न कार्यमार्फत सर्प उद्धारसँगै चेतना फैलाउन थालेपछि ९० प्रतिशत सर्प मार्ने क्रम घटेको छ ।’

जीवशास्त्रमा स्नातकोत्तर उत्तीर्ण उपाध्याय पेसाले शिक्षक हुन् । उनले टीकापुरमा रहेको टीकापुर पोलिटेक्निक कलेज, सामान्य चिकित्सा कलेजमा अध्यापन र रेडियन्ट मन्टेश्वरी इङ्लिस स्कुलमा अध्यापन गराउँदै आएका छन् । पेसाले शिक्षक भए पनि उनलाई धेरैले उद्धारकर्ताको रूपमा चिन्ने गरेका छन् ।

प्रतिक्रिया