मंगलबार, मंसिर २५, २०८१

एआई र मेसिन लर्निङसँग सम्बन्धित सीपको बढ्दो माग

नेपालखोज २०८१ कार्तिक २३ गते १५:००

काठमाडाैं । हालसालै जारी गरिएको एक रिपोर्ट अनुसार आर्टिफिसियल इन्टेलिजेन्स (एआई), मेसिन लर्निङ (एमएल) तथा जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (जेन एआई) जस्ता डिजिटल सीपहरूको माग विश्वभर तीव्र गतिमा बढिरहेको छ।

कर्नरस्टोन अनडिमान्ड र स्काइहाइभ नामक परामर्शदाता कम्पनीको संयुक्त ‘ग्लोबल स्टेट अफ द स्किल्स इकोनोमी’ प्रतिवेदनले विगत पाँच वर्षयता रोजगारीको क्षेत्रमा यस्तो सीपको माग बढेको जनाएको छ ।
प्रतिवेदनले स्पष्ट रूपमा भनेको छ- एआई र यससँग सम्बन्धित डिजिटल कौशलको माग तीव्र गतिमा बढ्दै गए पनि मानव कौशल अझै पनि महत्त्वपूर्ण छ।

रिपोर्ट अनुसार एआई र मेसिन लर्निङसँग सम्बन्धित सीपको माग सन् २०१९ देखि लगातार बढ्दै गएको छ, जसले यी प्रविधिले विश्वभरका उद्योगहरूलाई द्रुत रूपमा परिवर्तन गरिरहेको देखाउँछ। पछिल्लो पाँच वर्षमा एआई र मेसिन लर्निङसँग सम्बन्धित जागिरका विज्ञापन ६५ प्रतिशतले बढेको प्रतिवेदनले जनाएको छ ।

यससँगै जेनेरेटिभ एआईसँग सम्बन्धित रोजगारीका विज्ञापनमा ४११ प्रतिशतको ठूलो वृद्धि देखिएको छ । जेनेरेटिभ एआई आर्टिफिसियल इन्टेलिजेन्सको नयाँ क्षेत्र हो जुन रचनात्मक प्रयोगहरूमा केन्द्रित छ र यसलाई सबैभन्दा प्रमुख प्राविधिक विकास मानिन्छ।

प्राविधिक उद्योगमा मात्रै सीमित नभई वित्तीय सेवा, स्वास्थ्य सेवा, औषधि उद्योग, बैंकिङ जस्ता क्षेत्रमा पनि यसको माग बढ्दो देखिएको छ ।

मानव कौशलक‍ो ठूलो माग

प्रतिवेदनले के पनि देखाउँछ भने डिजिटल सीपको बढ्दो मागका बाबजुद मानव सीपको माग पहिलेको तुलनामा अझ बढि रहेको छ।

तथ्याङ्क अनुसार सञ्चार, टीम बिल्डिंङ , नेतृत्व, विश्लेषण र प्रशिक्षण तथा कोचिङ जस्ता सफ्ट सीपहरूको विश्वव्यापी माग डिजिटल सीपभन्दा दोब्बर छ।

उत्तर अमेरिकामा मानव सीपको माग डिजिटल सीपको तुलनामा २.४ गुणा बढी छ जबकि यो अन्तर ईएमईए (युरोप, मध्य पूर्व र अफ्रिका) मा पनि बढी छ, जहाँ मानव कौशलको माग २.९ गुणा बढी छ। धेरै विज्ञहरूले आशंका व्यक्त गरेका छन् कि एआईले ठूलो मात्रामा परम्परागत रोजगारीलाई बिस्थापित गर्नेछ।

प्रतिवेदन अनुसार सबैभन्दा बढी माग भएका मानवीय सीपहरूमा सञ्चार, पारस्परिक सहयोग र समस्या समाधान समावेश छ जसले प्रमाणित गर्दछ कि सञ्चार, अन्तरक्रिया र नेतृत्व कौशल प्राविधिक विकासका बावजुद मानिसका लागि अत्यावश्यक छन्।

“भोलि के हुने छ भन्ने बिषयमा हामि सही भविष्यवाणी गर्न सक्दैनौं तर इतिहासले हामीलाई कसरी प्राविधिक प्रगतिले उद्योगहरूलाई पुन: आकार दिन्छ र उनीहरूले माग गर्ने सीपहरू बुझ्न मद्दत गर्दछ भन्ने कुरा सिकाउँछ ।” स्काइहाइभका एनालिटिक्स प्रमुख ब्लेडी टास्काले भनेका छन् ।

प्रतिवेदनले अग्मेन्टेड रियालिटी (एआर) र भर्चुअल रियालिटी (भीआर) प्रविधिको माग तीव्र गतिमा बढिरहेको बताएको छ। एआर/भीआर सम्बन्धित जागिरका लागि विगत पाँच वर्षमा विज्ञापन १५४ प्रतिशतले बढेको छ।

यी प्रविधिहरू अब मनोरञ्जनभन्दा बाहिर र प्रशिक्षण सिमुलेशन, रिमोट सहायता र ग्राहक अनुभव जस्ता विभिन्न क्षेत्रमा अपनाइँदै छन्। यो बढ्दो मागले कम्पनीहरूले कसरी आफ्ना सञ्चालनहरू डिजिटलाइज गर्न र ग्राहकको अनुभव सुधार गर्न यी प्रविधिहरू प्रयोग गरिरहेका छन् भनेर देखाउँछ।

एआई र मेसिन लर्निंङ सीपका लागि विश्वव्यापी माग उर्लदो छ। रिपोर्ट अनुसार भारतमा ४.१ प्रतिशत जागिरका विज्ञापन एआई र एमएलमा केन्द्रित छन् , जसले विश्वव्यापी रुपमा यसको बढ्दो भूमिका तर्फ संकेत गर्दछ । जर्मनीमा (२.५ प्रतिशत) र त्यसपछि जापानमा (२.२ प्रतिशत) यस्तो जागिरको माग छ ।

रिमोट र लचिलो काम अर्थात् अफिस जानुको सट्टा आफ्नै घर वा अन्य कुनै ठाउँबाट गर्ने कामक‍ो माग पनि तीव्र गतिमा बढिरहेको प्रतिवेदनले देखाएको छ । रिमोट जबमा अष्ट्रेलिया (२२.८ प्रतिशत), जर्मनी (२१ प्रतिशत) र न्युजिल्यान्ड (२०.३ प्रतिशत) अगाडि छन् ।

विकसित अर्थतन्त्र भए पनि फ्रान्स (४.९ प्रतिशत) र इटाली (१.४ प्रतिशत) यो परिवर्तनशील शैली अपनाउने मामिलामा केही पछाडि परेको देखिन्छ ।

प्रतिक्रिया