सोमबार, मंसिर २४, २०८१

अफगानिस्तानमा सन् २०२१ पछि छैटौँ पटक सार्वजनिक रुपमा मृत्युदण्ड

नेपालखोज २०८१ कार्तिक २८ गते १७:३६

गार्देज, अफगानिस्तान । अफगानिस्तानमा सन् २०२१ पछि छैटौँ पटक सार्वजनिकस्थलमा मृत्युदण्ड दिइएको छ ।

अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको रङ्गशालामा तालिबान प्रशासनले बुधबार एक दोषी ठहर गरिएका हत्यारालाई गोली हानेर मृत्युदण्ड दिएको हो ।

घटनास्थलमा रहेका एएफपीका एक पत्रकारका अनुसार पक्तिया प्रान्तको राजधानी गार्डेजमा हजारौं दर्शकको अगाडि पीडित परिवारका एक सदस्यले ती व्यक्तिको छातीमा तीन वटा गोली प्रहार गरेका थिए ।

मृत्युदण्ड दिनुभन्दा अघिल्लो साँझ गभर्नरको कार्यालयले अधिकारीहरू र बासिन्दाहरूलाई सामाजिक सञ्जालमा ‘यस कार्यक्रममा उपस्थित हुन’ आह्वान गरेको थियो ।

अफगानिस्तानको सर्वोच्च अदालतले जारी गरेको विज्ञप्तिमा एक हत्यारालाई प्रतिशोधात्मक सजाय सुनाइएको जनाएको छ ।मृत्युदण्डको आदेशमा तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले हस्ताक्षर गरेका छन् ।

तालिबान सत्तामा आउनुअघि देखि नै हबिबुल्लाह सैफ उल कातल नामका एक व्यक्तिको हत्या गरेको अभियोगमा उनी हिरासतमा रहेका थिए भने तीनवटा सैन्य अदालतले यस मुद्दाको ‘निकै सटिक र पटक–पटक अनुसन्धान’ गरेका थिए ।

बयानमा भनिएको छ, ‘पीडित परिवारलाई मृत्युदण्डमा रोक लगाउने मौका दिइएको थियो, तर उनीहरूले अस्वीकार गरेका थिए।’

मृत्युदण्डदिने क्रममा गृहमन्त्री सिराजुद्दीन हक्कानीलगायत उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया