मंगलबार, मंसिर २५, २०८१

अमेरिकासँग सञ्चार च्यानल ‘अझै पनि विद्यमान’ रहेको इरानको भनाइ

नेपालखोज २०८१ कार्तिक २८ गते १९:५७

तेहरान । डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएको एक हप्तापछि संयुक्त राज्य अमेरिकासँग सञ्चार च्यानलहरू अझै खुला रहेको इरानका शीर्ष कूटनीतिज्ञले बुधबार बताएका छन् ।

‘हामी र अमेरिकीहरूबीचको सञ्चार च्यानलहरू अझै पनि विद्यामान छन्”, अब्बास अराघचीले साप्ताहिक क्याबिनेट बैठकको साइडलाइनमा भने, ‘अमेरिकीहरूसँग हाम्रा मतभेदहरू छन्, जुन कहिलेकाहीँ धेरै आधारभूत र केन्द्रीय हुन्छन् र समाधान हुन सक्दैनन्, तर हामीले उनीहरूको लागत घटाउन र तनाव कम गर्न व्यवस्थापन गर्नुपर्छ ।’

उनले गत महिना अमेरिकासँगको अप्रत्यक्ष आणविक वार्ता गर्नका लागि कुनै आधार नभएको बताएका थिए । ‘हामीले वर्तमान सङ्कट पार नगरेसम्म यी वार्ताका लागि कुनै आधार देख्दैनौँ’, क्षेत्रीय भ्रमणको हिस्साका रूपमा अक्टोबर १४ मा ओमानको खाडी सल्तनतको भ्रमणका क्रममा उनले भनेका थिए ।

ओमानले लामो समयदेखि इरान र संयुक्त राज्य अमेरिकाबीच मध्यस्थता गर्दै आएको छ । इरानले सन् १९७९ को इस्लामिक क्रान्तिपछि पश्चिमी नेतृत्वको शाह मोहम्मद रेजा पहलवीलाई हटाएसँगै अमेरिकाले इरानसँगको सम्बन्ध तोडेको थियो ।

अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेको इरान सन् २०१५ मा अमेरिकासहितका प्रमुख शक्तिहरूसँग आफ्नो आणविक कार्यक्रमलाई सीमित गर्न र क्रमशः प्रतिबन्धहरू हटाउने सम्झौतामा पुगेको थियो ।

तर ट्रम्प प्रशासनले यो सम्झौतालाई तीन वर्षपछि फिर्ता लिएर प्रतिबन्धहरू पुनः लागु गरेपछि सम्झौता विफल भयो ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफेल ग्रोसीले देशको आणविक कार्यक्रममा इरानी अधिकारीहरूसँग वार्ता गर्न बुधवार तेहरानको भ्रमण गर्ने क्रममा यो घटनाक्रम आएको हो ।

प्रतिक्रिया