शनिबार, माघ ५, २०८१

११/११/११ : पहिलो विश्व युद्ध समाप्तिको दिन

सुनील उलक २०८१ मंसिर ८ गते १०:३४

सन् १९१८ को एघारौं महिनाको एघारौं दिनको बिहानको ठिक एघार बजे विश्वभर एउटा खुशीको सन्देश फैलिएको थियो । पहिलो विश्वयुद्धको समाप्तिको घोषणाले संसारभर खुशीयाली मनाइएको थियो । ऑस्ट्रियाको युवराज आर्कड्युक फ्रान्ज फर्डिनान्ड र उनको पत्नीको २८ जून, १९१४ मा सेराजेवोमा भएको हत्याको आक्रोशमा ऑस्ट्रियाले सर्बियाको विरुद्ध युद्ध घोषणा गरेको थियो । यहीँ कारण नै पहिलो विश्वयुद्ध शुरुवातको मुख्य कारण थियो ।

Advertisement

तर यस भन्दा अगाडि नै विश्वका प्रमुख बिकसित राष्ट्र बिच बैमनस्यताको शुरुवात भइसकेको थियो । झण्डै दुई करोड सैनिक तथा गैरसैनिक सर्वसाधारण जनताको मृत्युु भएको पहिलो विश्वयुद्ध ४ वर्ष भन्दा बढी चलेको थियो । यस युद्धमा नेपाल पनि अछुतो रहन सकेन । करिव २ लाख नेपाली युद्धमा होमिएकोमा करिव २० हजारले जीवन गुमाउन पर्यो । यहि युद्धको समाप्ती पछि आ-आफ्नो देश फर्केका सैनिकका कारण स्पेनिश फ्लू फैलिएको थियो ।

जसका कारण विश्वयुद्धमा भन्दा दुइगुना भन्दा बढीको ज्यान गएको थियो । धेरै कमलाई ज्ञात होला युवराज आर्कड्युक फ्रान्ज फर्डिनान्ड वीरशम्शेरको समयमा नेपालमा शिकार खेल्न आएका थिए । उनले बि.सं. १९४९ को फागुनमा पश्चिम नेपालको कैलाली र कञ्चनपुरमा १७ बाघ ६ गैडा तथा असंख्य अन्य जनावरको शिकार गरेका थिए । कहिल्यै निशाना नचुक्ने आर्कड्युक अन्तमा आफै दुस्मनका हातबाट सिकार भए ।

आजभन्दा १०६ वर्ष अगाडि पहिलो विश्वयुद्धको समाप्तीको घोषणा गरिएको थियो । यस दिनलाई युद्धविराम दिवस (Armistice Day)को रुपमा मनाउने गरिन्छ । तर सन १९५४ बाट अमेरिकाले भने Veterans Day को रुपमा मनाउने गर्न थालेको छ । तस्विर प्रथम विश्वयुद्धका प्रमुख कारक अर्थात हत्या भएका युवराज आर्कड्युक फ्रान्ज फर्डिनान्ड नेपालमा शिकारमा आउने समयको हो ।

प्रतिक्रिया