शुक्रबार, माघ ११, २०८१

कञ्चनजङ्गा गोल्डकप : भारतलाई पछि पार्दै धरान सेमिफाइनलमा प्रवेश

नेपालखोज २०८१ मंसिर १७ गते २०:२७

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको फुङलिङमा जारी दोस्रो कञ्चनजङ्गा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल आज भएको खेलमा धरान सेमिफाइनलमा प्रवेश गरेको छ । २–० अन्तरले भारतको सिलगुढीलाई पछि पार्दै धरान सेमिफाइनलमा प्रवेश गरको हो ।

Advertisement

आयोजक चासोक तङनाम सञ्चालक समितिका प्रचारप्रसार संयोजक दिनश लिङखिमका अनुसार आज भएको तेस्रो क्वाटरफाइनल खेलमा गोधुलीले भारतको सिलगुढीस्थित कञ्चनजङ्गा फुटबल क्लबलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाए ।

भानुजन मावि अम्बिटारको मैदानमा भएको खेलमा गोधुलीका लागि दोर्जे तामाङले पहिलो गोल गरे । मध्यान्तर अघि तामाङको गोलबाट अग्रता बनाएको गोधुलीका लागि मध्यान्तरपछि मिलन राईले दोस्रो गोल थप्दै टिमको जित सुनिश्चित गरे । दोर्जे तामाङ यसअघि दोस्रो ताप्लेजुङ गोल्डकपमा सर्वाधिक गोलकर्ता बनेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सुनसरी धरानको गोधुली फुटबल क्लबले सेमीफाइनलमा प्रवेश गरेसँगै सेमिफाइनलमा गोधुलीले शम्दु फुटबल क्लब तेह्रथुमसँग प्रतिस्पर्धा गर्नेछ । यसअघिका क्वाटरफाइनल खेलमा शम्दु फुटबल क्लब तेह्रथुम र रेड डेभिल्स फुटबल क्लब इलामले जित हात पार्दै सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

मङ्गलबार न्यू स्टार क्लब विर्तामोड झापा र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच पहिलो चरणको अन्तिम खेल हुनेछ । प्रतियोगिताका विजेताले रू तीन लाख दुई हजार ८१ पुरस्कार पाउनेछन् भने उपविजेताले रू एक लाख ५१ हजार ८१ प्राप्त गर्ने छन् । रासस

प्रतिक्रिया