शुक्रबार, माघ ११, २०८१

सङ्घीयतापछि सामुदायिक वन : बहुआयामिक उपयोग गर्नुपर्ने सुझाव

भीष्मराज ओझा २०८१ मंसिर १८ गते १२:२४

काठमाडौं । नेपालको संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तहका सरकार निर्माणपछि विभिन्न अधिकारसँगै प्राकृतिक स्रोतसम्बन्धी अधिकार पनि तीनै तहका सरकारमा फरक फरक ढङ्गले निहित भएको छ । अर्कोतिर सर्वसाधारणको जीवनशैलीमा आएको परिवर्तनले पनि वनमाथिको निर्भरतामा केही कमी आएको छ ।

Advertisement

यस्तो अवस्थामा खासगरी नेपालको सामुदायिक वनको भविष्य के हुने र कता जाने भन्ने सन्दर्भमा विभिन्न बहस हुने गरेका छन् । सामुदायिक वनमा कतिपय प्रदेशले कर लगाएको गुनासो एकातिर छ भने अर्कोतिर सङ्घीयता संस्थागत र अधिकार क्षेत्रका बारेमा तीनै तहका सरकार स्पष्ट हुँदै गएपछि त्यस्तो अन्योल समाप्त भएर जाने विश्वास गरिएको छ ।

वन वातावरण क्षेत्रका विज्ञहरु विश्वमै प्रशंसा पाएको नेपालको सामुदायिक वनको बहुउपयोग गर्न सके सङ्घीयतापछि यसको भविष्य थप उज्जल हुने धारणा व्यक्त गरे । उनीहरु नेपालको संविधानमा उल्लेख गरिएका समाजवादप्रतिको प्रतिबद्धता र समुदायका अग्राधिकारका विषयले सामुदायिक वन अभियान आगामी दिनमा अझ फष्टाउने दाबी गरे । संविधानका यी विषयले समुदायको उन्नती, प्रगति र समृद्धिलाई दिगो बनाउने उनीहरुको तर्क छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारी नेपालको सामुदायिक वन कार्यक्रम विश्वमै सफल रहेको उल्लेख गर्दै मुलुक संघीयतामा प्रवेश गरेपछि यो अभियान थप मौलाएको बताए । ‘राज्यको पुनःसंरचनासँगै निर्माण भएका वन नीति २०७५ र वन ऐन २०७६ मा पनि पर्यापर्यटनको विकास गर्ने, कृषि वनलाई पनि प्रोत्साहन गर्ने, वन्यजन्तु व्यवस्थापन र वन उद्यम विकास गरी बजारीकरण गर्ने विषय समेटिएका छन्,’ उनले भने, ‘यी प्रावधानले वनको दिगो संरक्षणसँगै समुदायको समृद्धिका लागि थप अवसर प्रदान गर्नेछ । समुदायको समृद्धिले नै यो अभियान पनि दिगो हुनेछ भन्ने हाम्रो विश्वास छ ।’

अध्यक्ष भण्डारी सङ्घीयताका प्रथम चरणमा तीन तहका सरकारबीच नै अधिकार बाँडफाड र कार्यान्वयन अलमलमा देखिएको अवस्थामा सामुदायिक वनमा केही चुनौती देखिनुलाई सामान्य रुपमा लिनुपर्ने बताए । समयसँगै ती चुनौती पनि सहज हुँदै जाने उनको तर्क छ । खाद्य तथा कृषि संगठन ९एफएआ०ेको पछिल्लो तथ्यांकअनुुसार पृथ्वीमा ३१ प्रतिशत मात्र वन क्षेत्र रहेको आँकडा छ र हरेक वर्ष एक करोड हेक्टर वन क्षेत्र वन विनाश भएको तथ्यले देखाउँछ । नेपाल भने आज भन्दा ३० वर्ष अघि ३९ प्रतिशत रहेको वन क्षेत्र हाल बढेर झण्डै ४६ प्रतिशत पुगेको छ । यसमा सामुदायिक वन अभियानको योगदान अतुलनीय रहेको छ ।

सामुदायिक वन विज्ञ भोला खतिवडा नयाँ परिवेशमा सामुदायिक वन अभियानको दिगोपनाका लागि वनलाई उत्पादन र रोजागारीसँग जोड्नुपर्ने बताए । ‘यसका लागि चलायमान वन समूह र सक्रिय वन व्यवस्थापन तथा सामुदायिक वन उद्यम विकास आजको आवश्यकता हो’ उनले भने । पूर्व डिभिजनल वन अधिकृत रामबाबु पौड्याल ग्रामिण क्षेत्रबाट हुने बसाइँसराई, बढ्दो मानव–वन्यजन्तु द्वन्द्व, वातावरणीय पक्षको ख्याल नगरी निर्माण गरिने पूर्वाधार, अतिक्रमण, डढेलोलगायत सामुदायिक वनमा पछिल्लो समय देखिएका समस्या भएको बताए ।

यसको समाधानका लागि निजी क्षेत्रसँगको सहकार्यमा वन आधारित उद्यमको विकास गर्नुपर्ने र जैविक विविधताको अभिलेखिकरण गर्नुपर्ने उनको सुझाव छ । ‘यस बाहेक सहरी क्षेत्रका वरपर सामुदायिक वनमा आधारित पर्यापर्यटन प्रर्वद्धन गर्नुपर्छ । वन अतिक्रमण र डढेलोको दिगो नियन्त्रणको व्यवस्था गर्नुपर्छ । वन्यजन्तु क्षति राहत कार्यक्रम प्रभावकारी बनाउनुपर्छ’ पूर्व डिभिजनल वन अधिकृत पौड्याल भने ।

नेपालमा सामुदायिक वनको अभ्यास कानुनतः २०४६ सालको प्रजातन्त्रको पुनःस्थापनापछि सुरु भएपनि व्यहारमा त्यस अघि २०३० सालमा सिन्धुपाल्चोकको ठोकर्पामा यो अभ्यास सुरु भएको थियो । सामुदायिक वन अध्ययन केन्द्रको २०८१ को तथ्यांकअनुसार नेपालको कुल वन मध्ये करिब ३७ प्रतिशत हिस्सालाई सामुदायिक वनको रुपमा २३ हजार २६ सामुदायिक वन उपभोक्ताका समूह ३१ लाख ९५ हजार ३२३ घरधुरीले संरक्षण र व्यवस्थापन गरिरहेका छन् । नेपालले विश्वमा चिनारी पाएका पहिचानमध्ये सामुदायिक वन पनि एक माध्यम हो । तर पछिल्लो समय मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै तीन तहका सरकारले सामुदायिक वनमा लगाउने कर र स्थानीयको उपभोगमा आएको परिवर्तन तथा बसाईसराईले केही चुनौती निम्त्याएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कल्पना भण्डारी सामुदायिक वनका सम्बन्धमा पछिल्लो समय सरकारका दृष्टिकोणमा फरकपन आउँदा चुनौती थपिएको बताए । उपभोक्ताले ३० वर्षसम्म संरक्षण गरेको वनबाट उत्पादन लिने बेला यस्तो चुनौती देखिएको उनको गुनासो छ । ‘सङ्घीयता ल्याउँदा हामी उपभोक्ताहरुले पनि ठूलो संघर्ष गरेका थियाे । आन्दोलन सफल भएपछि घर घरमा सिंहदरबार पनि भनियो, तर संघीयता आएपछि धेरै सहजता हुन्छ भन्ने आशा गरेका थियौ,’ अध्यक्ष भण्डारी भने, ‘अहिले हामी तेहोरो करको मारमा परेका छौँ ।

करबाट छुटकारा पाउन आन्दोलन गर्नुपरेको छ । हाम्रो प्रदेश (लुम्बिनी) सरकारले त वर्षेनी सामुदायिक वनबाट रु दुई अर्ब राजश्व कर उठाउने कार्ययोजना बनाएको छ । अहिले त आन्तरिक विक्री वितरणको १० प्रतिशत पनि कर लाग्छ भनिएको छ ।”सामुदायिक वनमा कर शुन्य बनाउन सके संरक्षण कार्यमा उपभोक्ताको आकर्षक बढ्ने उनको भनाई छ । ‘स्थानीय सरकारमा आफू भित्रको वन क्षेत्र हो भनेर यसको आम्दानी आफैले लिनुपर्छ भन्ने भनाई छ । प्रदेश सरकार, सरकार चलाउन आर्थिक स्रोत चाहिन्छ भन्छ र आर्थिक संकलन नभएपछि सरकार कसरी चलाउने भन्छ । संघीय सरकारले त पहिले देखिनै २५ प्रतिशत कर लिने भनेको नै छ’ उनले भने ।

करका सम्बन्धमा तीनै तहको कानुन बाझिएको छ । साथै वनमा रहेका उमेर पुगेका, ढलापडा र सुकेका रुख संकलन गरेर काठको उत्पादन बढाउन सकेमात्र जनताको मागअनुसार काठ आपूर्ति गर्न सकिने उनको सुझाव छ । आपसमा बाझिएका कानुन बारेमा स्पष्ट नहुँदा उपभोक्ता मारमा परेका छन् । यी सबै विषय अधिकारको प्रयोगसँगै मिल्दै जाने र सङ्घीयतापछि सामुदायिक वन अभियानको भविष्य थप उज्जल हुने अध्यक्ष भण्डारीको आशा छ ।

प्रतिक्रिया