शुक्रबार, माघ ११, २०८१

महिला हिंसा अन्त्य गर्न विद्यालयस्तरबाट नै शिक्षा दिनुपर्छः उपसभामुख मगर

नेपालखोज २०८१ मंसिर २५ गते १९:०५

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले महिला हिंसा अन्त्य गर्न विद्यालयस्तरबाट नै शिक्षा दिनुपर्ने बताएकी छिन्।

Advertisement

महिला हिंसाविरुद्धको ३३ औँ अन्तर्राष्ट्रिय १६ दिने अभियानअन्तर्गत आज राष्ट्रिय महिला आयोगले आयोजना गरेको ‘खबर गरौँ ११४५ हेल्पलाइन सेवा’ को सातौँ वार्षिकोत्सव तथा आठौँ स्थापना दिवस समारोहमा उनले लैङ्गिक हिंसा कम गर्न कानुन कडा बनाएर मात्र नहुने भन्दै विद्यालयस्तरबाट नै यससम्बन्धी शिक्षा प्रदान गरिनुपर्ने आवश्यकता औँल्याएकी हुन् ।

उनले भनिन्, ‘मान्छे शिक्षित हुँदै गए पनि हिंसामा भने कमी आएको देखिँदैन । छोरा र छोरी दुवैले एक अर्कालाई सम्मान गर्न सिकाउनुपर्छ । कुनै पनि आधारमा हिंसा गर्दैन भनेर घर र विद्यालयबाटै सिकाउन आवश्यक छ ।’

आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले आयोगको अभियानमा सहयोग गर्ने सम्पूर्णलाई धन्यावाद दिँदै महिलामाथि हुने हिंसा न्यूनीकरणमा आगामी दिनमा पनि थप सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै आयोगकी सचिव पार्वती अर्यालले हेल्पलाइन सेवालाई हिंसापीडित महिलाको लागि थप पहुँचयोग्य र प्रभावकारी बनाउने अबको लक्ष्य रहेको बताइन् । उनले आयोगबाट हिंसापीडित महिलाको उद्धार, उपचार, राहत, आश्रयस्थल प्रदान, मनोसामाजिक तथा कानुनी परामर्श, पुनःस्थापना, सीपमूलक तालिम रोजगारी व्यवस्थापनलगायतका सेवा प्रदान भइरहेको जानकारी दिइन् ।

सचिव अर्यालले आव २०७५ देखि २०८० सम्म आयोगमा प्राप्त कुल उजुरीमा घरेलु तथा मानसिक हिंसा ४२ प्रतिशत, आर्थिक हिंसा ३० प्रतिशत, शारीरिक हिंसा २४ प्रतिशत र यौनजन्य हिंसा चार प्रतिशत देखिएको बताइन् ।

प्रतिक्रिया