आइतबार, माघ ६, २०८१

मुख्यमन्त्री कार्कीद्वारा झापा कप उद्घाटन

नेपालखोज २०८१ मंसिर २९ गते १५:४०

झापा । झापा–११ फुटबल क्लबको आयोजनामा आजदेखि डोमालाल राजवंशी रङ्गशालामा ‘झापा कप–२०८१’ सुरु भएको छ । प्रतियोगिताको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरे । उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटीबीच प्रतिस्पर्धा हुँदैछ ।

Advertisement

प्रतियोगितामा सिरहाको सलहेस युवा क्लब, काठमाडौँको एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब, दार्जिलिङको जिटिए, काठमाडौँ जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस् क्लब र झापा ११ सहभागी हुने क्लबका अध्यक्ष जलकुमार गुरुङले बताए ।

प्रतियोगिताको फाइनल खेल आगामी पुस ८ गते हुनेछ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले नगद रु १० लाख, ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद रु पाँच लाख, ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ । प्रत्येक खेलमा प्लेयर अफ द म्याचले रु १० हजार नगद पाउनेछन् ।

प्रतियोगितामा सर्वाधिक गोल गर्ने एक जना तथा उत्कृष्ट गोलरक्षक एक जनालाई रु ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । साथै प्रतियोगिताबाट उदीयमान खेलाडीलाई ‘झापा ट्यालेन्ट’ घोषणा गरिनेछ । रासस

प्रतिक्रिया