शुक्रबार, चैत ७, २०८१

दूध बेचेरै मासिक एक लाख बढी आम्दानी

टेकराज पोखरेल २०८१ पुष १ गते ८:३८

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कृषकले दूध बिक्री गरेर मासिकएक लाख ५० हजार बचत गर्दै आएका छन् । गैँडाकोट–६ गैरीका व्यावसायिक पशुपालक कृषक नारायण पौडेलले गरेका पशुपालन व्यवसायबाट सबै खर्च कटाएर मासिक सो रकम बचत हुने गरेको जानकारी दिए ।

Advertisement

विसं २०७४ मा पौडेलले १५ लाख लगानी गरी सिर्जनशील उन्नत कृषि तथा पशु फार्म सञ्चालनमा ल्याएका थिए । पाँच गाईबाट व्यावसायिक पशुपालन सुरु गरेको पौडेलसँग हाल सात माउ भैँसी, नौ माउ गाई एवं पाँच पाडी र एउटा बाच्छी छ । फार्ममा रहेकामध्ये १४ गाईभैँसी दुहुनो भएको र दुईवटा गाई ब्याउने रहेका बताए ।

उनले दैनिक एक सय ५० लिटर दूध बिक्री गर्दै आएको बताए । ‘साँझ र बिहान गरी दैनिक एक सय ५० लिटरसम्म दूध बिक्री गर्दै आएको छु’, उनले भने, “पशुपालन व्यवसायबाट अहिले मासिकरुपमा एक लाख ५० हजार बचत हुने गरेको छ ।” फार्ममा उत्पादन भएको दूधसँगै गोबर मलसमेत बिक्री हुने गरेको उनले बताए ।

पशुपालनमा आफ्नी श्रीमती, दिदी र भिनाजुले सघाउने भन्दै आवश्यक परेको अवस्थामा घण्टे खेताला (काम गरेको घण्टाको आधारमा पारिश्रमिक लिने श्रमिक) समेत लगाउने गरेको बताए । ‘हामी घरको चार जना मिलेर पशुपालनमा जुट्ने गरेका छौँ’, उनले भने, ‘सधैँ सबै काम चार जनालेमात्रै गर्न नसक्ने अवस्थामा घण्टे खेताला पाइन्छ, उनीहरुलाई पनि काममा लगाउने गरेका छौँ ।’ गाईभैँसीको दूध हातले दुहुने गरेको भन्दै १४ वटै गाईभैँसीको दूध दुहुन साढे एक घण्टा लाग्ने उनले बताए ।

व्यावसायिक रुपमा कृषि तथा पशुपालन सुरु गरेपछि कृषि ज्ञान केन्द्रबाट गोठ निर्माणका लागि रु एक लाख ५० हजार अनुदान पाएको उनले बताए । त्यसैगरी भकारो (गोठ) सफा गर्नका लागि नगरपालिकाबाट ७५ प्रतिशत अनुदानमा समरसेबल ट्युबबेल निर्माण गरेको पौडेलको भनाइ छ । फार्ममा पालेका गाईलाई कृत्रिम गर्भाधान र भैँसीलाई प्राकृतिकरुपमा गर्भाधान गराउने गरेको उनले बताए ।

प्रतिक्रिया