शुक्रबार, माघ ११, २०८१

सटही काउन्टर !

सुनिल उलक २०८१ पुष १२ गते १३:५३

काठमाडौं । नेपालमा जुद्धशम्शेरको समयमा बल्ल कागजी नोटको प्रचलन सुरु भएको थियो । त्यस बेला सदर मुलुकी खानाबाट कागजी नोटहरू वितरणको सुरुवात भयो । यस अगाडि टक्सारमा सिक्का छापिए पनि वितरण तथा हरहिसाब भने सदर मुलुकी खानाले नै गर्दथ्यो । नेपालमा सिक्का तथा कागजी नोटको प्रचलन सुरु भए पनि भारतसँग खुला सीमा भएको कारणले गर्दा भारतीय नोटको प्रचलन पनि उत्तिकै हुने गर्दथ्यो । कतिपय सीमा क्षेत्रमा त नेपाली सिक्का वा कागजी नोट भन्दा भारतीय नोट तथा सिक्का स्वीकार गरिन्थ्यो । 

Advertisement

२०१० साल साउन १२ गते करेन्सी एण्ड एक्सचेन्ज विभागले सूचना जारी गर्दै भारतीय मुद्रा सटहीका लागि लाइसेन्सको व्यवस्था गरेको थियो । यसरी लाइसेन्स लिँदा चार भन्ज्याङ भित्र रु १० प्रवेश शुल्क र रु १० वार्षिक बुझाइ सराफीका रूपमा काम गर्न पाउने भयो । तर उपत्यका बाहिरको हकमा भने रु १ को टिकट टाँसेर मालमा निवेदन दिने भनिएको थियो । यसरी अनुमति लिएर सटही गर्दा सदर मुलुकी खानाले तोकेको मूल्यमा सटही गर्न पाउँथे । यसरी इजाजत दिनु अगाडि भने सरकारले कम्पनी (भारतीय रुपैयाँ वा सिक्का) तथा नेपाली नोटको सटही विनिमय भने साहु महाजनसँगको राय सल्लाह र मौज्दातबाट हर हिसाब गरी तोक्ने गरिन्थ्यो ।

२०११ सालमा सदर मुलुकी खानाले भारतबाट आवश्यक सामग्री मगाउँदा सरकारले तोकेको सामग्री तथा तोकेको नीति नियम पालना गरेमा कम्पनी रुपैयाँ १०० को नेपाली मोरु १५० मा उपलब्ध गराउँथ्यो भने अन्य प्रयोजनमा भने १७५ बुझाउनु पर्दथ्यो । यसरी सरकारको झन्झटिलो प्रक्रिया तथा महँगो दर रेटले गर्दा केही व्यापारीले भने आफ्नै हिसाबले कम्पनी सटही गर्दथे । गाउँका सोझा सोझा लाहुरेहरूसँग कम्पनी बराबर नेपाली रुपैयाँ दिएर पनि साट्दथे ।

यसरी अलि अलि गर्दै जम्मा भएको भारतीय रुपैयाँ बोकेर भारत तर्फ सामान लिन पुग्दथे । २०१३ सालमा नेपाल राष्ट्र बैङ्कको गठन भए पछि पनि सटही ऐन बनेन । २०१७ मा बल्ल विदेशी विनिमय सटही नियन्त्रण ऐन बनेपछि भने यस प्रकारको सटही गर्ने कार्य बन्द भयो । 

यहाँ तस्बिरमा पोखराका प्रतिष्ठित व्यापारी प्रेमराज मुल्मीले सिक्का सटही गर्न पिँढी भरि नेपाली सिक्का चाङ लगाएर राखेको देख्न सकिन्छ । सो समय पोखरामा नेपाल बैङ्क खुलिसके पनि नेपाल राष्ट्र बैङ्क खुलेको थिएन । भारतबाट आउने लाहुरेहरूले भारु लिएर आउँथे तर पोखरामा भारु साट्ने कुनै ठाउँ थिएन । नेपाल बैङ्कले सटही थालेको थिएन । तसर्थ प्रेमराज मुल्मीले पोखरामा यो व्यवसायको सुरुवात गरे । उनले भारतबाट लाहुरेले ल्याएको भारु सँग नेपाली मोहर साट्दथे । पछि त्यही भारु ले भारतबाट सामान ल्याएर बेच्दथे ।

वहाँको साथमा बस्नु भएका व्यक्ति भने ठमेलका व्यापारी भक्तिलाल प्रधान हुनुहुन्छ । वहाले नै काठमाडौँबाट मोरु (सिक्का) भरियालाई बोकाएर पोखरा सम्म ल्याउनु हुन्थ्यो र सो सिक्का प्रेमराज मुल्मी ज्यू ले सटही गर्नुहुन्थ्यो ।

प्रतिक्रिया