शनिबार, माघ २६, २०८१

जुम्लामा आठ हजार ८२९ छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने

नेपालखोज २०८१ पुष २७ गते १३:०८

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहका आठ हजार ८२९ जना छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने भएको छ ।

Advertisement

नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यहाँका सामुदायिक तथा निजी विद्यालयका कक्षा ६ देखि १० सम्म अध्यनरत करिब आठ हजार ८२९ छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरूद्धको खोप दिइने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।

उक्त भाइरसविरूद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाका सबै स्थानीय तहबाट तथ्याङ्क सङ्कलन भइरहेको छ । देशव्यापी खोप कार्यक्रमअन्तर्गत आगामी माघ २२ गतेदेखि फागुन ६ सम्म एकैपटक सञ्चालन हुनेछ । जुम्लाको हकमा फागुनदेखि सामुदायिक विद्यालय खुल्ने भएकाले त्यसैअनुसार कार्यालयले खोप कार्यक्रम सञ्चालनका लागि स्थानीय तहका स्वास्थ्य शाखासँग छलफल भइरहेको छ ।

कार्यालय प्रमुख सापकोटाले भने, ‘विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका एक हजार ५८६ जना र विद्यालयभित्रका सात हजार २४३ गरी आठ हजार ८२९ जना छात्रालाई उक्त खोप लगाउने तयारी गरिएको छ ।’

कार्यालयको तथ्याङ्कअनुसार जिल्लाको चन्दननाथ नगरपालिकाका एक हजार ८७९ जना, गुठीचौर गाउँपालिकामा ५२०, हिमामा एक हजार १३ र कनकासुन्दरीमा ९६७ जनालाई खोप लगाइने छ । त्यस्तै पातारासी गाउँपालिकामा एक हजार १५८, सिंजामा ९०७, तातोपानीमा एक हजार १५३ र तिलामा एक हजार २३२ जना छात्रालाई खोप लगाउने योजनाबारे छलफल भइरहेको स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख सापकोटाको भनाइ छ ।

विद्यालय बाहिर रहेका किशोरीको हकमा जन्मदर्ताका आधारमा उमेर हेरेर खोप लगाइने छ । नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट प्रमाणित उक्त खोप १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभीको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।-रासस

प्रतिक्रिया