शनिबार, माघ २६, २०८१

यू–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल पराजित

नेपालखोज २०८१ पुष २९ गते १७:२९

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकपको अभ्यास खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजसँगको खेलमा नेपाल नौ रनले पराजित भएको हो ।

Advertisement

मलेसियामा आज भएको पहिलो अभ्यास खेलमा वेष्ट इन्डिजले नेपाललाई जितका लागि एक सय १० रनको लक्ष्य दिएको थियो ।

नेपालको पारी १९ दशमलव एक ओभरमा एक सय रनमै समेटियो । नेपालका लागि सिमाना केसीले २३, पूजा महतोले १८, किरण कुँवरले १८ र सोनी पाख्रिनले १५ रन बनाए ।

बलिङतर्फ वेष्ट इन्डिजकी त्रिशा हरदत, आलिया विकीज र आमिया गिल्बर्टले दुई दुई विकेट लिइन् । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभरमा चार विकेट गुमाएर एक सय नौ रन बनाएको थियो । वेष्ट इन्डिजका लागि जजारा क्लक्सटनले अविजित २२ रन बनाइन् ।

यस्तै कप्तान समारा रमनथले २५ र अबिगेल ब्राइसले १९ रनको योगदान दिइन् । बलिङतर्फ नेपालकी सिमाना केसी र रचना कुमारी चौधरीले एक–एक विकेट लिइन् । नेपालले दोस्रो अभ्यास खेल आगामी माघ २ गते अमेरिकासँग खेल्नेछ ।

माघ ५ गतेदेखि मलेसियामा सुरु हुने यु–१९ महिला टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । उक्त समूहमा बङ्गलादेश, स्कटल्याण्ड र अस्ट्रेलिया रहेका छन् । नेपालले माघ ५ गते बङ्गलादेशसँग, माघ ७ गते स्कटल्यान्डसँग र माघ ९ गते अस्ट्रेलियासँग खेल्ने छ । रासस

प्रतिक्रिया