शनिबार, माघ २६, २०८१

देवता बनाइएका लाहुरेको कथा

सुनिल उलक २०८१ माघ ४ गते १४:०९

वि.सं. १८७२ फागुनमा इष्ट इण्डिया कम्पनीसँग भएको सुगौली सन्धि पछि रुष्ट भएका बलभद्र कुँवर वि.सं. १८७६ मा पन्जाब केशरी रञ्जित सिंहको सेनामा भर्ति हुन लाहोर पुगेका थिए । यसरी लाहुरे संस्कृतिको सुरुवात भएको थियो ।

Advertisement

लाहुरे शब्दसंगै वीर, बफादार, निडर तथा कर्तव्यनिष्ठ सैनिकको रुपमा गोर्खालीहरुको परिचय पनि पाएको थियो । विश्वभर वीरताको गाथाले प्रख्यात गोर्खाली लाहुरे मध्य कुनै एक देवताको रुपमा पनि पुजिने गरिएको छ । के कसरी देवता पनि बने खासै जानकारी भएन । तर एउटा कथा सुपादेउराली क्षेत्रमा प्रख्यात छ ।

हुन त सुपा देउराली देवीको कथा नै अज्ञात छ । कसैले गोरखाका राजा राम शाहकी रानी लिलावती भन्ने गर्दछन् । यिनी खाँचीकोटका राजा ध्वजन शाहको छोरी हुन भनिन्छ । यिनै लिलावती पछि मनकामना देवी बनेको कथा गोरखामा प्रख्यात छ भने खाँचीमा सुपा भगवती बनेको कथा प्रचलित छ ।

सुपादेउराली मन्दिर नजिकै ढुङ्गे पहाडको भिरमा ढुङ्गाको कापाबाट बगेको रसायनबाट बनेको एक आकृतिलाई लिएर एउटा कथा बनाइएको छ । त्यो आकृतिका लाहुरेलाई सुपादेउराली भगवतीले भित्तामा टाँसिदिएको भनिन्छ ।

किंवदन्ती यस्तो छ –

कुनै बेला यसै क्षेत्र नजिकै बसोबास गर्ने कुनै युवाले सुपादेउरालीमा लाहुरे भर्ति हुन सकेमा देवीलाई बोका चढाउने भाकल गरेछ । युवा लाहुरे भर्ति त भए तर देवीलाई भाकलको बोका चढाउन बिर्सिएछ । यसरी भाकल पुरा गर्न नसक्दा देवीको मन्दिर रहेको बाटो छलेर पहराबाट गाँउ तर्फ लाग्दा देवीले भाकल पुुरा नगरि भागेको हुँदा पहरामा टाँसिदिएको भन्ने कथा सुनाउने गर्दछन् ।

पहरामा देखिएको आकृति ढुङ्गाको कापबाट बाहिर बगेको कुनै रसायन हो जसलाई निकैबेर नियालेर हेर्दा कुनै लाहुरेको आकृति जस्तो लाग्दछ ।

यहाँ कथासंगै कालान्तरमा लाहुरे पनि देवताको रुपमा मुर्ति बनाइएर पुजिएको देख्न सकिन्छ । साथै पहराको तल रहेको बजारको नाम नै लाहुरे बजार रहन गएको छ ।

यस्तो छ हामी कहाँ धर्मलाई आस्थामा जोड्ने प्रपञ्च ।

प्रतिक्रिया