काभ्रे पाँचखालमा सातसयको आँखा परीक्षण

काभ्रे । काभ्रेको पाँचखाल नगरपालिकामा मोतियाविन्दुको नि:शुल्क स्क्रिनिङ शिविरअन्तर्गत ७०० जनाको नि:शुल्क आँखा परीक्षण गरिएको छ ।
नगरले बिहीबारदेखि स्थानीय आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थासँगको सहकार्यमा संयुक्त रुपमा नगरको ११ वटा वडामा चार दिनसम्म मोतियाविन्दुको निःशुल्क स्क्रिनिङ शिविर सञ्चालन गरेको थियो । शिविरबाट सातसयभन्दा बढीको आँखा परीक्षण गर्दा १५० जनाको मोतिविन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको संस्थाले जनाएको छ ।
शिविरमा आँखासम्बन्धी समस्या पहिचान भएका बिरामीको नि:शुल्क शल्यक्रियाको व्यवस्था गरिएको छ । आजदेखि प्राथमिक स्वास्थ्य केन्द्रमा आँखाका बिरामीको शल्यक्रिया सुरु गरिएको संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीले बताए।
‘आजदेखि आँखाका बिरामीको निःशुल्क शल्यक्रिया सुरु गरेका छौँ,’ उनले भने । शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि सामग्री एवं औषधिको व्यवस्थासमेत गरिएको उनले जानकारी दिए ।
शिविरका लागि मातृका आइ सेन्टरले प्राविधिक सहयोग गरेको थियो । चार दिने शिविरअन्तर्गत पाँचखालको विभिन्न ११ स्थानमा शिविर सञ्चालन गर्दा आँखासम्बन्धी समस्या पहिचान भएका बिरामीको नि:शुल्क शल्यक्रियाको व्यवस्था गरिएको हो । संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत नगरसँगको सहकार्यमा शिविर आयोजना गरिएको पराजुलीले बताए ।
साथै पनौती नगरको वडा नं ७ स्थित स्वास्थ्य चौकीमा आँखा उपचार क्लिनिक ‘नियमित’ सञ्चालन सुरु गरिएको छ । नगरले बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पताल र लायन्स क्लब अफ पनौतीको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य चौकीमा प्रत्येक महिनाको पहिलो र तेस्रो शुक्रबार क्लिनिक सञ्चालन सुरु गरिएको हो । रेयुकाई आँखा अस्पतालका दृष्टि विशेषज्ञसहितको टोलीले सेवा दिने जनाइएको छ ।
प्रतिक्रिया