नारीवादसम्बन्धी कला प्रदर्शनी माघ १२ गतेदेखि

काठमाडौं । दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी बृहत् कला प्रदर्शनी आयोजना हुने भएको छ । यही माघ १२ गतेदेखि काठमाडौँमा सुरु हुने प्रदर्शनीमा दक्षिण एसियाका दश जना महिला कलाकारले आफ्ना सृजना प्रदर्शन गर्नेछन् ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ‘फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम एण्ड साउथ एशियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एशियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने जानकारी दिइयो ।
डा अर्शिया लोखन्डवालाको परिकल्पनामा आयोजना हुन लागेको प्रदर्शनीले पितृसत्तात्मक संरचना, परम्परागत सोच र लैङ्गिक राजनीतिजस्ता विषय सम्बोधन गर्ने जनाइएको छ ।
तारागाउँ नेक्स्टको आयोजना र सराफ फाउन्डेसनको सहकार्यमा काठमाडौँको बौद्धस्थित तारागाउँ सांस्कृतिक केन्द्रमा हुने प्रदर्शनी सर्वसाधारणले तीन महिनासम्म अवलोकन गर्न सक्नेछन् ।
प्रदर्शनीमा भारतका चार, नेपालका तीन र श्रीलङ्का, पाकिस्तान र बङ्गलादेशका एक÷एक महिला कलाकारका सृजना रहनेछन् । आयोजकका अनुसार भारतीय कलाकारहरु अनिता दुबे, मिथु सेन, शेबा छाच्छी र पुष्पमाला, नेपाली कलाकार अश्मिना रञ्जित, विधाता केसी र उमा विष्टसँगै श्रीलङ्काकी अनोली पेरेरा, पाकिस्तानकी नाइजा खान र बङ्गलादेशकी तायबा बेगम लिपिका सृजना प्रदर्शनीमा रहनेछन् ।
सबै कलाकारले कलामार्फत पारम्परिक लैङ्गिक भूमिकालाई चुनौती दिँदै महिलाको स्वायत्तता र समाजिक संरचनाहरूको प्रभाव उजागर गर्ने प्रयास गर्नेछन् ।
प्रदर्शनीको औपचारिक उद्घाटनका दिन कलाकार अश्मिना रञ्जितको विशेष प्रस्तुति रहनेछ । साथै प्रदर्शनीको पहिलो दिन शनिबार दिउँसो ३ बजे कलाकारले अनुभव साझा गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया