‘ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षण जरुरी’

मनहरी । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पर्यटकीय हिसाबले महत्व बोकेको ऐतिहासिकस्थललाई प्रवर्द्धन एंव संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।
मकवानपुरगढी गाउँपालिका–२ मा आयोजित ऐतिहासिक मकवानपुरगढीको २६२औँ विजय उत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले इतिहासको संरक्षण गर्न सके मात्रै यसको महत्व बढ्दै जाने बताए ।
मकवानपुरगढी नेपाल एकीकरणको कोशेढुङ्गा भएको उल्लेख गर्दै उनले पृथ्वीनारायण शाहले रचेको इतिहासबाट हामी नेपालीहरु एउटै मालामा गाँसिएकाले मकवानपुरगढी दरबार र यसको महत्वलाई स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए ।
मुख्यमन्त्री लामाले मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै ऐतिहासिक मकवानपुरगढीको समृद्धिका लागि नीति निर्माण तहबाट ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रहरु, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रदेश सरकार लागिपरेको बताए ।
विरताको इतिहास रहेको ऐतिहासिक मकवानपुरगढीमा सेनवंशीय राजाहरुको वंशावलीको चित्रणसँगै गोर्खाली सेनाले विदेशी फौजलाई पराजित गरेको ऐतिहासिक किल्ला भएकाले मकवानपुरगढीको संरक्षण तथा संवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले मुलुकको ऐतिहासिक धरोहरको रुपमा रहेको मकवानपुरगढी नेपालको एकीकरण अभियानको जड रहेको बताए ।
मुख्यमन्त्री लामाले मकवानपुरगढी नेपाली सेनाको गौरवपूर्ण इतिहाससँग गाँसिएकाले यस स्थानको ऐतिहासिक र पुरातात्विक विषयलाई समेटर संरक्षण गर्दै अगाडि बढ्न सके पर्यापर्यटन विकासमा टेवा पुग्ने बताए ।
गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रीनलगायत जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया