सोमबार, माघ २८, २०८१

अवैध लागूऔषध सहित ६ जना पक्राउ

नेपालखोज २०८१ माघ ११ गते १३:४२

काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ महाकाली माता मन्दिर नजिकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब २१ ग्राम २ सय २० मिलिग्राम सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीया जानकी दमाई, ३९ वर्षीय गौखे दमाई र भीमदत्त नगरपालिका–११ भुजेला बस्ने २१ वर्षीय अविशेक सुनार रहेका छन् । इलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

Advertisement

यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलुवापुर बस्ने २१ वर्षीय दिपक रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्राजेपाम १० ट्याब्लेट र ट्रामाडोल ५० ट्याब्लेट सहित दाङ तुल्सीपुर उपमहानगरपालिका–५ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालगंजतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ठगी गरेको अभियोगमा पक्राउ

बाँके । नक्कली जग्गा धनी श्रेस्ता बनाई बैंकमा धितो राखी रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१ घर भएका २२ वर्षीय गौरव कार्की, ३५ वर्षीया ईश्वरी माया रोका र बारा घर भएका ३५ वर्षीय दिलिप कुमार सिंह रहेका छन् ।

डुडुवा गाउँपालिका–५ स्थित जुम्ला चन्दननाथ नगरपालिका–८ बस्ने पीडित व्यक्तिको ३३ कठ्ठा जग्गाको नक्कली जग्गा धनी पुर्जा बनाई मुक्तिनाथ विकास बैंक लिमिटेड लगनटोल काठमाडौंबाट १ करोड २० लाख रकम कर्जा लिई ठगी गरेको घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले काठमाडौंको बुद्धनगर र कोटेश्वरबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया