शनिबार, माघ २६, २०८१

अन्तर्राष्ट्रिय मेलामा नेपालको पर्यटन प्रवर्द्धन गरिँदै

नेपालखोज २०८१ माघ ११ गते १८:४६

काठमाडौं । नेपालको पर्यटनलाई विश्वबजारमा प्रचारप्रसार र प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्डले सक्रियता देखाएको छ । बोर्डले नेपाललाई विश्वभर एक प्रमुख गन्तव्यका रूपमा प्रस्तुत गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय मेलामा सक्रिय सहभागिता जनाउँदै आएको हो ।

Advertisement

नेपालको पर्यटन प्रवर्द्धन गर्ने आफ्नो दृढ प्रतिबद्धतामा रहेर बोर्डले लण्डनमा आयोजित एड्भेन्चर ट्राभल शो, नेदरल्याण्ड्सको भ्याकेन्टिबिउर्स, जर्मनीको सिएमटी, स्पेनको फिटुर, भारतको ओटिएम र फिनल्याण्डको माट्कालगायत प्रतिष्ठित अन्तर्राष्ट्रिय पर्यटन मेलाहरूमा सक्रिय सहभागिता जनाएको बोर्डद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

यी कार्यक्रमहरूले साहसिक यात्रा, सांस्कृतिक सम्पदा, दिगो पर्यटन प्रवर्द्धनलगायत मुलुकको विविध सम्पदाहरूलाई उजागर गर्न महत्वपूर्ण थलोका रूपमा काम गरिरहेको बोर्डले जनाएको छ । प्रत्येक मेलामा नेपालका पर्यटन व्यवसायी कम्पनीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

सहभागी कम्पनीहरूले अन्तर्राष्ट्रिय सरोकार भएका निकायलाई आफ्ना सेवा प्रस्तुत गर्नुका साथै बोर्ड र निजी क्षेत्रबीचको सहकार्यले विश्वव्यापी पर्यटक प्रवर्द्धन गर्न, ट्राभल कम्पनीसँग सम्बन्धहरू सुदृढ गर्न र पारस्परिक विकासका लागि मार्ग प्रशस्त गर्न महत्वपूर्ण भूमिका खेलेको बोर्डले जनाएको छ ।

यी मेलामा नेपालका तर्फबाट राखिएका स्टलमा आगन्तुकहरूले निकै चासो देखाउँदै, यात्रा व्यवसायका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरी नेपालका धार्मिक, प्राकृतिक सम्पदाहरूको बारेमा जानकारी लिएका बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले जानकारी दिए । जनवरी महिनामा आयोजित यी मेलाहरूमा नेपालबाट उल्लेखनीय रूपमा कम्पनीहरू सहभागी उनले बताए ।

कार्यकारी प्रमुख जोशीका अनुसार लण्डनमा आयोजित एड्भेन्चर ट्राभल शोमा नेपालको यात्रा व्यवसाय क्षेत्रका सात कम्पनीहरूले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपाललाई साहसिक र सांस्कृतिक पर्यटनको अग्रणी गन्तव्यका रूपमा प्रस्तुत गरेका थिए ।

फिनल्याण्डको माट्कामा आठ कम्पनी सहभागी भए भने जर्मनीको सिएमटीमा सात कम्पनीले नेपालको प्रस्तावित सेवाहरूलाई प्रस्तुत गरेका छन् ।

स्पेनको फिटुरमा २७ कम्पनीहरू भाग लिइरहेका छन् भने भारतको ओटिएममा २८ कम्पनी सहभागी हुने जनाइएको छ । मुम्बइमा यही जनवरी ३० र ३१ गते ओटिएम आयोजना हुँदैछ । बोर्डले यी मेलाहरूमा उपस्थिति जनाएर विश्वव्यापी पर्यटन बजारमा नेपालको उपस्थिति थप सुदृढ बनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाली प्रतिनिधिमण्डलले देशका धार्मिक, प्राकृतिकलगायत सम्पदाहरू, हिमालयन पदयात्रा, आध्यात्मिक अनुभव, जीवन्त चाडपर्व र समृद्ध जैविक विविधतालाई केन्द्रमा राखी विविध वर्गलाई आकर्षित गरेको थियो ।

बोर्डका कार्यकारी प्रमुख जोशीले प्रमुख अन्तर्राष्ट्रिय पर्यटन मेलाहरूले नेपाललाई अनुपम गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

बोर्डले नेपालको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनको नेतृत्व गर्दै, पर्यटन क्षेत्रमा दिगो र समावेशी वृद्धिका लागि निरन्तर सहकार्य र साझेदारीलाई स्वागत गरेको उनले उल्लेख गरे । रासस

प्रतिक्रिया