एकीकृत कर प्रणालीमा अनधिकृत पहुँच पुर्याउनेविरुद्ध अनुसन्धान सुरु

काठमाडौं । भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीमा अनधिकृत पहुँच पु¥याउनेविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान सुरु गरिएको छ ।
जिल्ला अदालत काठमाडौँबाट सात दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान सुरु गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।
भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीमा अनधिकृत पहुँच पु¥याएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको थियो ।
पक्राउ पर्नेमा चितवन भरतपुर महानगर–११ बस्ने पर्वत बिहादी गाउँपालिका–३ का २८ वर्षीय सन्तोष पराजुली र गोरखा भीमसेनथापा गाउँपालिका–४ घर भएका २२ वर्षीय परिन पाण्डे छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
उनीहरुले आन्तरिक राजस्व कार्यालयको एकीकृत कर प्रणाली सूचनामा पहुँच पु¥याई भाटभटेनी सुपरमार्केटबाट नेपाल सरकारलाई प्राप्त हुने राजस्वको दायराभित्र आउने रु दुई अर्ब ३४ करोड १६ लाख ४२ हजार आठ सय १६ को राजस्व कर दायित्व रु छ करोड २६ लाख ९४ हजार १९ लाई परिवर्तन तथा हेरफेर गरी रु १३ करोड नौ लाख ५९ हजार छ सय नौ बनाएको प्रहरीको आरोप छ ।
करदातालाई बढी कर दायित्व सृजना हुनेगरी राज्यको आधिकारिक कम्प्युटर सूचना प्रणालीमा अनधिकृत रुपमा प्रबिष्ट गर्ने कार्य गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको प्रवक्ता आचार्यले बताए । रासस
प्रतिक्रिया