लागू औषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका-४ चिडियादह टोलबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६०० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३१ वर्षीय सागर श्रेष्ठलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहसाघुनघारीबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका-८ रनियापुर बस्ने ३७ वर्षीय रियाज अहमद खाँ, २३ वर्षीय खलिल अहमद रजा खाँ र २८ वर्षीय जिलानी खाँ रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
चितवनको कालिका नगरपालिका-६ गुम्बा चोकबाट लागूऔषध गाँजा ४ सय ५० ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १७ ट्याब्लेट र स्टेगन १८ ट्याब्लेट सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खोलेसिमलबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने २७ वर्षीय समिर परियारको घर तलासी गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार समिरको खोजी गरिरहेको छ ।
यसैगरी चितवनको भरतपुर महानगरपालिका-४ लंकु लक्ष्मी पथबाट लागूऔषध गाँजा करिब ५० ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ३९ ट्याब्लेट, प्रोमेथ ६७ ट्याब्लेट, बोमिन ३० ट्याब्लेट र नगद ९५ हजार ७०५ रूपैयाँसहित ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–७ देवनगर घर भई सोही महानगरपालिका-४ लंकु लक्ष्मी पथ डेरा गरी बस्ने २५ वर्षीय कुशल बिक, २५ वर्षीया दिपा पुन मगर, सोही महानगरपालिका-७ बस्ने ३७ वर्षीय कृष्ण शर्मा र सोही महानगरपालिका-५ बस्ने २६ वर्षीय उज्वल न्यौपाने रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवन र वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया