टक्सारको सरस्वती गुफा ओझेलमा

टक्सार (भोजपुर) । श्रीपञ्चमीका दिन मुलुकभरका सरस्वती मन्दिरमा भीड बढिरहँदा सदरमुकाम नजिकै रहेको भोजपुर नगरपालिका–१२, टक्सारको सरस्वती गुफा भने यसको महत्व नबुझ्दा ओझेलमा पर्दै गएको छ ।
यस्ता धार्मिक महत्व बोकेका स्थानभन्दा पनि विद्यालयस्तरमा नै सरस्वती पूजा गर्ने प्रचलनले ऐतिहासिक कुरा ओझेलमा परेका हुन् । सदमुकामदेखि आघा घण्टाको दुरीमा रहेको टक्सारको सरस्वती गुफा अहिले आएको आधुनिक जीवन शैली र विकसित प्रविधितर्फ उन्मुख युवा पिँढीका कारण ओझेलमा पर्दै गएको हो । सरस्वती गुफामा बसेर सात दाना अक्षता नचपाई निल्दा बुद्धि बढ्ने विश्वास विगतमा रहे पनि हाल यसको महत्व कम हुँदै गएको स्थानीयको भनाइ छ ।
विगतमा साना बालबालिकालाई अक्षर चिनाउनका लागि सरस्वती पूजाका दिन यही गुफामा लगिने गरिएको भए पनि अहिले भने सो परम्परालाई निरन्तरता दिन छाडिएको स्थानीय सानुकाजी शाक्यले बताए । उनले भने, ‘ढुङ्गाले बनेको गुफाको भित्र भागमा सरस्वतीको पूर्ण आकृति भएको ढुङ्गा रहेको छ, सोही कारण पनि यो गुफाको महत्व देखिएको छ ।’
विसं १९९० को भूकम्पअघिसम्म भोजपुर सदरमुकाममा रहेको प्रसिद्ध सिद्धकाली मन्दिर शिवथानबाट भित्र–भित्र हुँदै साँधुहरु टक्सारको सोही सरस्वती गुफाबाट बाहिर निस्कने गरेको भनाइ अहिले पनि टक्सारका बुढापाकाको मुखबाट सुन्न पाइन्छ । भूकम्पको धक्काले गुफा प्रवेशको मार्गमा अवरोध खडा भएपछि सहज रुपमा आवत–जावत गर्न समस्या भएको हो । बाटो सफा गरेर गुफा प्रवेशमा सहजता ल्याउने हो भने गुफाको महत्व बढ्नाका साथै गुफा धार्मिकस्थलका रुपमा विकसित हुने स्थानीय शिक्षक दीपेन्द्र श्रेष्ठले बताए ।
विद्यालयमा नै सरस्वती पूजा हुने गरेको र साना बालबालिकालाई पनि विद्यालयमा नै लगेर अक्षरारम्भ गराउने गरिएकाले यसको महत्व कम भएको शिक्षक श्रेष्ठको धारणा छ । सरस्वती गुफा धार्मिक पर्यटकीय हिसाबले पनि महत्व बोकेको स्थल भएकाले यसका लागि पर्यटन मन्त्रालयले पनि चासो देखाउनुपर्ने स्थानीयको माग छ । स्थानीय विमल रणपहेलीले भने, यस्ता इतिहास बोकेका स्थानको संरक्षणमा पर्यटन मन्त्रालयले पनि ध्यान दिनुपर्छ, यसका लागि जिल्ला तहका माथिल्लो निकायमा पुगेकाहरुले पनि पहल गर्नुपर्छ ।
सो स्थानको भित्री भागमा सरस्वतीको पूर्ण आकृति भएको ढुङ्गा रहेकाले गर्दा सो गुफाको नाम सरस्वती गुफा रहन गएको किंवदन्ती रहेको पाइन्छ । अहिलेको परिवर्तित अवस्थामा पुराना परम्परा र संस्कृतिको संरक्षण संवद्र्धन हुनुपर्नेमा त्यसतर्फ कसैको पनि ध्यान नगएका कारण सरस्वती गुफाजस्ता धार्मिकस्थल नाममा मात्र सीमित बन्दै गएको स्थानीय टक्सारवासीको गुनासो रहेको छ । विगतमा सरस्वती पूजा गर्नका लागि मन्दिरहरुमा भीड बढ्ने गरेको भए पनि अहिले आएर घरघरमै र विद्यालयका विद्यार्थीले स्कुलमा नै पूजा गर्न थालेपछि पनि यस्ता ऐतिहासिक गुफाको महत्व कम हुँदै गएको स्थानिय अमृका ताम्राकारको धारणा छ ।
प्रतिक्रिया