‘क्यान्सर निवारणका लागि सचेतना तथा रोकथाममा जोड दिनुपर्छ’

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले क्यान्सर निवारण गर्न सचेतना र रोकथामको पाटोमा बढी जोड दिनुपर्ने बताएका छन् ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले आयोजना गरेको विश्व क्यान्सर दिवस, २०२५ को अवसरमा ‘पृथकतामा एकता: क्यान्सर भोगाइका कथाहरू’ भन्ने मूल नाराका साथ आज आयोजित अन्तरक्रियामा उनले क्यान्सर नै लाग्न नदिने बाटोमा अघि बढ्नुपर्ने बताए ।
सचिव पोखरेलले भने, ‘निरोधात्मक पक्षमा बढी ध्यान दिनुपर्ने आवश्यकता छ । पहिचानपछि उपचार गर्ने राज्यको दायित्व त छ तर क्यान्सर लाग्नै नदिन काम गर्नुपर्ने देखिन्छ । क्यान्सर उपचारमा रिफरल मेकानिजमलाई व्यवहारिक र परिस्कृत बनाउनुपर्नेछ ।’ उनले सचेतनाको पाटोमा तल्लो तहमा काम गर्ने र रिफरल मेकानिजमलाई राम्रो गरेर केन्द्रकृतभन्दा पनि प्रदेश स्तरसम्म लाने र आवश्यकताअनुसार केन्द्रमा ल्याउँदा क्यान्सर उपचारमा सहजता आउने बताए ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटाले क्यान्सरको प्रारम्भिक पहिचान र रोकथाममै बढी जोड दिनुपर्ने बताए । उनले भने, ‘प्रारम्भिक पहिचान गर्नसके पछि जटिलता थपिँदैन । सचेतना अभियान पनि सञ्चालन गर्नुपर्नेछ । रोग लाग्न नदिनमा बढी प्रयास गर्नुपर्ने देखिन्छ । रोकथाममा नै बढी जोड दिनुपर्ने देखिन्छ ।’
प्राडा क्यान्सररोग विशेषज्ञ डा विवेक आचार्यले क्यान्सर सबैको चासो र सचेतनाको विषय बन्नुपर्ने बताउँदै जबसम्म क्यान्सरको उपचार समयमा हुँदैन तबसम्म यो प्राणघातक रोग नै मानिने बताए ।
उनले भने, ‘प्रारम्भिक चरणमै रोग पत्ता लगाउन र उपचार गर्न सकियो निको पार्न सकिने रोग हो । नेपालमा स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, फोक्सो क्यान्सर बढी देखिएका छन् । पेटसम्बन्धी क्यान्सर बढिरहेको छ । आयातित तथा प्रशोधित खानेकुराले यस्तो क्यान्सरलाई बढावा दिइरहेका छन् । साथै धूमपान पनि यसको प्रमुख कारक हो ।’
नेपाल चिकित्सक सङ्घका अध्यक्ष तथा क्यान्सर रोग विशेषज्ञ डा अनिल कार्कीले अझै पनि सचेतना पुग्न नसकेको बताए । उनले बिरामी तेस्रोदेखि चौथो स्टेजसम्म आइरहेको र ढिलो आउँदा उपचार पनि जटिल हुने बताए । सुरूआती चरणमा आए निको हुने सम्भावना अधिक हुने उनको भनाइ छ । रासस
प्रतिक्रिया