शुक्रबार, चैत ७, २०८१

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालखोज २०८१ माघ २३ गते १३:४८

सप्तरी । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी महादेवा गाउँपालिका–२ घर भएका उमेश रजकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

आफ्नै दाई ४० वर्षीय गणेश रजकलाई २०६१ माघ १ गते बिहान कुटपिट गरी हत्या गरेको घटनामा जिल्ला अदालत सप्तरीबाट पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत सप्तरीबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब १ सय १ किलोग्राम गाँजा बरामद

धरान उपमहानगरपालिका–१७ बिष्णुपादुका जाने सर्दु पुलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय १ किलोग्राम मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त स्थानमा रहेको बा.९ च १७६८ नम्बरको कार तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

रसुवाको नौकुण्ड गाउँपालिका–५ भोर्ले साउने खोलास्थित सडकमा आम्बासबाट पारच्याङतर्फ जाँदै गरेको ना.४ त ९५५२ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार बेलुकी दुर्घटना हुँदा चालक भारत मोतिहारी पकडी दयाल परसा–१३ बस्ने २५ वर्षीय अरवाज महम्मदको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशुली नुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो ।

काभ्रेको बनेपा नगरपालिका–१० पुलबजारस्थित सडकमा बा.५ ख ३२४६ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी २६ वर्षीय पुरूषको गए राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया