सोमबार, चैत १०, २०८१

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

नेपालखोज २०८१ माघ २५ गते १४:५९

काठमाडौं । सामाजिक सञ्जाल मार्फत युवतीको चरित्र हत्या गरेको अभियोगमा दाङ लमही नगरपालिका–५ घर भएका २१ वर्षीय रवि सिंह रसैलीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

पीडितसँग सम्बन्धमा रहँदा सहमति बिना खिची राखेको अश्लील भिडियो तथा तस्विरहरू पीडितको आफन्तहरूको म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा उक्त कार्यमा संलग्न रविलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले वडा प्रहरी कार्यालय लमही दाङको समन्वयमा पक्राउ गरेको हो ।

उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सामाजिक संजालको दुरूपयोग गरी डर÷त्रास फैलाउने सात जना पक्राउ

सामाजिक संजालको दुरूपयोग गरी डर÷त्रास फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा ७ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ पवित्र नगर बस्ने धादिङ गल्छी गाउँपालिका–१ घर भएका २९ वर्षीय रोमन आले, तनहुँ भानु नगरपालिका–७ घर भएका ३६ वर्षीय मनोहर थापा मगर, तनहुँ भानु नगरपालिका–११ घर भएका ३९ वर्षीय गुण बहादुर गुरूङ, गोरखा आरूघाट गाउँपालिका–७ घर भएका २७ वर्षीय सुमन पराजुली, गोरखा आरूघाट गाउँपालिका–६ घर भएका २९ वर्षीय पदम बहादुर मगर, भक्तपुर सूर्यविनायक बस्ने काभ्रे रोशी गाउँपालिका–७ घर भएका २६ वर्षीय रोशन तामाङ र काठमाडौं महानगरपालिका–७ सुकेधारा बस्ने दोलखा बैतेश्वर गाउँपालिका–३ घर भएका ३९ वर्षीय गोपाल मोक्तान रहेका छन् ।

विभिन्न मितिमा तरवार, खुकुरी जस्तो धारिलो हातहतियार प्रयोग गरी टिकटक लगायतका सामाजिक संजालमा केक काट्ने वहानामा भिडियोहरू पोष्ट गरी सर्वसाधारणमा डर-त्रास सृजना गरी आतंकित बनाउने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया