वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत गुर्भाकोट नगरपालिका–२ घर भई काठमाडौं तार्केश्वर नगरपालिका नेपालटार बस्ने ३६ वर्षीय रमेश कुमार डिसी, रोल्पा गंगादेव गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–३१ बस्ने ४१ वर्षीय जै बहादुर वली र मकवानपुर थाहा नगरपालिका–२ घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने ३८ वर्षीय रविन कार्की रहेका छन् ।
पक्राउ मध्ये रमेशले सिंगापुर पठाइदिछु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, जै बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ र रविनले स्लोभाकिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेशलाई काठमाडौं महानगरपालिका–९ बाट र जै बहादुरलाई काठमाडौं महानगरपालिका–३१ बाट बिहीबार तथा रविनलाई काठमाडौं महानगरपालिका–२६ बाट बुधबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये रमेश र जै बहादुरलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं तथा रविनलाई प्रहरी वृत्त बौद्ध पठाइएको छ ।
ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ
ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी मकवानपुर थाहा नगरपालिका–८ घर भई ललितपुर, ललितपुर महानगरपालिका– २ सानेपा बस्ने ३५ वर्षीय चित्र बहादुर घलानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत मकवानपुरबाट गत मंसिर १३ गते पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर सानेपाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाइएको छ ।
करिब २ सय ७६ किलोग्राम गाँजा बरामद
इटहरी उपमहानगरपालिका–१७ कान्छी चोकबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ सय ३० किलो १ सय ५० ग्राम बिहीबार साँझ प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले चतराबाट ईटहरीतर्फ जाँदै गरेको बा.२ च ३४६५ नम्बरको गाडीलाई रोक्न खोज्दा गाडी छाडि चालक फरार भएपश्चात गाडी तलासी गर्दा प्लाष्टिकले बेरिएको ८ वटा पोकाबाट उक्त परिमाणको पदार्थ फेला पारी बरामद गरेको हो । हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी सुनसरीको कोशी गाउँपालिका–३ जमुवा बोर्डर छेउस्थित खेतबाट अवैध लागूऔषध गाँजा करिब ४६ किलो ५ सय ५० ग्राम बिहीबार राति प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेका २ जना व्यक्तिहरूले बोरा फाली फरार भएपश्चात बोरा जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा पाँच जनाको मृत्य
कैलालीको जोशीपुर गाउँपालिका–५ मैनपोखरी नहरको पुलस्थित सडकमा सु.प.०१–००२ त ५२३२ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही गाउँपालिका–५ सिम्राना बस्ने ५८ वर्षीया रामपति थरूनीको बिहीबार बेलुकी मृत्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएकी उनको मेडिकल कलेज नेपालगंज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कालिकोटको नरहरिनाथ गाउँपालिका–९ छिप्पे खोलास्थित सडकमा क प्र.०२–००१ क ०८२० नम्बरको मिनि ट्रक अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा ट्रकमा सवार सोही गाउँपालिका–८ लालु बस्ने ४५ वर्षीय गंगा देउवाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल कालिकोटतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ स्थितमा सडकमा बा.प्र.०१–०३० च ९६४२ नम्बरको इभी गाडी अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा चालक हाल नाम, थर, वतन नखुलेका करिब २७ वर्षीय पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ चरौँदीस्थित सडकमा बा.१२ च १९१६ नम्बरको कार र बागमती प्रदेश ०१–०२७ च ८५०५ नम्बरको गाडी एकआपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा कारमा सवार काठमाडौं महानगरपालिका–१६ बस्ने ५३ वर्षीया लक्ष्मी श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य २ जनाको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री बिर्तामोड नगरपालिका–६ जलकन्या बस्ने ६५ वर्षीया चन्द्रकला राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
प्रतिक्रिया