सोमबार, चैत १०, २०८१

तीन हजार पाँच सयजनाको निशुल्क मुटु जाँच

नेपालखोज २०८१ माघ २७ गते १४:०४

गोरखा । यहाँ सञ्चालित दुई दिनको नि:शुल्क मुटु स्वास्थ्य शिविरमा तीन हजार ५१० जनाले जाँच गराएका छन् । सदरमुकामस्थित गोरखा अस्पतालमा सम्पन्न शिविरमा सर्वसाधारणले मुटु जाँच गराएको आयोजक रोटरी क्लब अफ गोरखाका अध्यक्ष विनोदकुमार बस्यान्तले जानकारी दिए ।

Advertisement

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई नेतृत्वको ३२ जनाको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शिविरमा आएकाको मुटु जाँच गरेका थिए । शिविरमा जाँच गराएकामध्ये २८ जनाको मुटुको शल्यक्रिया गर्नुपर्ने देखिएको डा भट्टराईले बताए ।

‘मुटु जाँच गराएकामध्ये २८ जनालाई मुटुको थप उपचारका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर रिफर गरेका छौँ,’ उनले भने, ‘जसमा ६ जनाको तत्काल उपचार गर्नुपर्ने अवस्था छ ।’ शिविरमार्फत ४१३ जनाले इसिजी जाँच गराए भने ४७९ जनाले इको जाँच गराएको डा भट्टराईले जानकारी दिए ।

रोटरी क्लब अफ गोरखा तथा रोट्र्याक क्लब अफ गोरखाको संयुक्त आयोजना एवं सेभ द हर्ट, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, र गोरखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा जाँच गराएका बिरामीलाई आवश्यकताका आधारमा निःशुल्क औषधिसमेत उपलब्ध गराइएको छ ।

शिविरमा मुटु जाँच गराएकामध्ये शल्यक्रिया गर्नुपर्ने सबै बिरामीको नि:शुल्क शल्यक्रियाको व्यवस्था गरिएको शिविर आयोजक समितिका संयोजक किशोरजङ्ग थापाले बताए । शिविरमार्फत बिरामीलाई करिब ५० लाख रूपैयाँ बराबरको स्वास्थ्य उपचार सेवा प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया