सोमबार, चैत १०, २०८१

मेक्सिकोमा बस दुर्घटना, कम्तीमा ३० जनाको मृत्यु

नेपालखोज २०८१ माघ २७ गते १५:१७

काठमाडाैं । मेक्सिकोको दक्षिणी क्षेत्रमा बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको पत्यक्षदर्शीले बताएका छन् ।

Advertisement

स्थानीय अधिकारीले अहिलेसम्म मृतक सङ्ख्या पुष्टि गर्ने आधिकारिक विवरण सार्वजनिक गरेका छैनन् । स्थानीय समयअनुसार शनिबार बिहान रिसोर्टको शहर क्यानकुन र ताबास्को राज्यकोबीचमा यात्रा गरिरहेको एउटा बस एस्कार्सेगा शहरमा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।

अधिकारीहरुले नौ जना घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको बताएका छन् भने स्थानीय सञ्चारमाध्यमले कम्तीमा ३० जनाको मृत्यु भएको समाचारमा जनाएका छन् ।

एस्कारसेगा रहेको क्याम्पेचे राज्यकी प्रशासन प्रमुख एलिसा हर्नान्डेजले भने, ‘हामीसँग मृत्यु हुनेको आधिकारिक सङ्ख्या अझै प्राप्त भइसकेको छैन । मृतकको शरीर क्षतविक्षत भएकोले तिनीहरूलाई सङ्कलन गरी पहिचान गर्ने कमाम भइरहेको छ ।’

ताबास्को राज्यका गभर्नर जाभियर मेले सामाजिक सञ्जाल एक्समा भनेका छन् , ’यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा भयानक दुर्घटना भएको छ र यस दुःखद् क्षणमा हामी मृतकका परिवा्जनमा समवेदना प्रकट गर्दछौँ ।’

‘हामी दुर्घटनापछिको आवश्यकता अनुसार सङ्घीय र क्याम्पेचे अधिकारीहरूसँग समन्वय गरिरहेका छौँ,’ उनले भने ।

साँझसम्ममा ताबास्को राज्यको महान्यायाधिवक्ताको कार्यालयले एक विज्ञप्ति जारी गर्दै क्याम्पेचेका अधिकारी र फरेन्सिक विज्ञान निर्देशनालयसँग मिलेर ‘पीडितहरूको पहिचान गर्न सहज हुने आनुवंशिक परीक्षण’ गर्न काम गरिरहेको बताएको छ ।

‘प्रभावित परिवारप्रति हाम्रो समवेदना छ,’ विज्ञप्तिमा भनिएको छ ।

बस सञ्चालन गर्ने कम्पनीले अनुसन्धानका लागि अधिकारीसँग पनि सहकार्य गरिरहेको जनाएको छ ।

’हामीले आफ्ना प्रिय सहकर्मी, सेवाग्राही र साथीहरू गुमाएका छाैँ,’ विज्ञप्तिमा भनिएको छ। ‘यस कठिन समयमा हामी उनीहरूको प्रशासनसँगको ऐक्यबद्धता र समझदारीको कदर गर्दछौँ ।’

प्रतिक्रिया