१४० वर्ष पहिले भएको सालिक अनावरण

जङ्गबहादुरको सालिक अनावरण समारोह त्यस समयको निकै ठुलो समारोह थियो । इ.सं. १९२७ मा लेखिएको नेपाल एन्ड नेप्लिज पुस्तकमा लेखक लेफ्टिनेन्ट कर्नेल गिम्लेट ले यस समारोहको सविस्तार वर्णन गरेका छन् । यस भव्य समारोहका उनी प्रत्यक्षदर्शी थिए । बेलायत सरकारको प्रतिनिधिका रूपमा त्यस विशेष समारोहमा उनलाई निम्त्याइएको थियो । तसर्थ पनि उनको वर्णन पढ्दा रोमाञ्चित हुनु स्वाभाविकै हो ।
वि.सं. १९४१ चैत्र १४ गते अंग्रेज सरकारको निमन्त्रणामा तीन जनरलहरू खड्क शम्शेर, केदार नरसिंह र धोज्नर सिंह (रणोद्वीपका धर्मपुत्र) रावलपिण्डीको लागी निस्केका थिए । भने सोहि दिन यता सुन्धारा र भद्रकालीको बिचमा टुडिखेलको पश्चिम ठूलो फराकिलो सडक बनाएर बिचको चोकमा जङ्गबहादुरको सालिक स्थापना गर्ने तैयारी गरिएको थियो । सालिक अनावरणको साइत निकाल्न शाही त्योतिषहरूलाई लगाइएको थियो । तिनै ज्योतिषहरूले निकालेको साइतमा सालिक अनावरणको तैयारी गरिएको थियो । सालिक अनावरणको साइत पापमोचन एकादशीको पर्सिपल्ट चैत कृष्ण त्रयोदशी मंगलवारका दिन रोजिएको थियो । उपत्यकाका ब्यापारीहरूलाई टुँडिखेल भरि टेन्ट राख्न लगाइएको थियो । उपत्यका भर दुइदिनका लागि जुवा तास फुकुवा गरिएको थियो ।
जङ्गबहादुर जीवित हुदै यो सडकको परिकल्पना गरिसकेको हुँदा उनका छोरा कमाण्डर इन चिफ जीतजंगले सो जङ्गबहादुरको सपना मात्र पुरा गरेनन्, सोही चोकको बिचमा जंगकै सालिक राखिदिए ।
वि.सं. १९३८ मा लण्डनका प्रख्यात मुर्तिकार थोमस ब्रकले तैयार बनाएको यो मुर्ति नेपालसम्म ल्याउनु निकै कठिन कार्य थियो । पानीजहाजबाट कलकत्ता र त्यहाँबाट रेलमा बेतिया त्यसपछि लरि तथा मानिसलाई बोकाएर झण्डै ६ महिना लगाएर काठमाडौ पुर्याइएको थियो । रणद्वीप सिंहको सालिक आइपुगेपछि छिटो छिटो दुवै सालिक स्थापना गर्न थालियो । निर्माता कम्पनीले करिव नेपाली ७०,००० रूपैयामा मुर्ति तैयार गरेर काठमाडौ सम्म पुर्याउने जिम्मा लिएको थियो ।
काठमाडौमा मात्र ६०,००० जनसंख्या भएको भए पनि पाटन भक्तपुर समेतको जनताको भिडले टुडिखेल वरपर सेना र जनता गरि करिव १२,००० जम्मा भएका थिए । सालिक अनावरणका दिन भव्य समारोहमा राजा पृथ्वी वीर विक्रम (९ वर्षका) ले आफ्नो सन्देश प्रधानमन्त्री रणोद्वीपलाई दिए, प्रधानमन्त्रीले त्यो सन्देश कमाण्डर इन चिफलाई पढ्न दिएका थिए । जङ्गबहादुरको जीवनी एवं बहादुरीको प्रशंसाले भरिएको सो आधा घण्टा लामो भाषण जङ्बहादुरकै छोरा कमाण्डर इन चिफ जीतजंगले पढेर सबै सामु सुनाएका थिए ।
राजाको सन्देश कमाण्डर इन चिफले पढेर सुनाए पछि प्रधानमन्त्री रणोद्वीपले दाजुको प्रशंसा गर्दै भाषण गरेका थिए । उनले भाषणमा भनेका थिए – यो केवल दाजु श्री ३ जङ्गबहादुरको सालिक मात्र होइन बेलायत र नेपालको सम्बन्धको एउटा निशानी पनि हो । तसर्थ भविष्यसम्म यसको सुरक्षा र संरक्षण गर्ने जिम्मा सरकारो हो । उनले अझ अगाडि आफ्नो बक्तव्यमा थपे – भविष्यका प्रधानमन्त्रीहरूले पनि श्री ३ जङ्गबहादुर प्रति अगाढ आस्था राखि राख्नेछन् ।
बेलायतसंगको सम्बन्धलाई पनि अझ मजबुत बनाउनमा मद्दत गर्नेछन् । श्री ३ को लामो भाषण पछि सालिक अनावरणको समय भयो । मुर्तिलाई पातलो कपडाले ढाकिएको थियो र सो कपडाको एक टुप्पामा बाँधिएको डोरी बालक राजाको हातमा थम्याइएको थियो । पण्डितले साइत भएको सूचना गरेपछि संगै रहेका कमाण्डर इन चिफको सहयोगले बालक राजा पृथ्वी वीर बिक्रमले बाँधिएको डोरि तानेर सबैको लागी सालिक अनावरण गरिदिए । दुइ वर्ष देखि सालिक हेर्न आतुर जनताको प्रतिक्षा बल्ल पुरा भएको थियो । सधै छोपिएको सालिक सबैका लागि खुला गरिएको थियो । सालिक अनावरण हुना साथ तोपको सलामी दिइएको थियो ।
पुस्तकमा लेखिएको अनुसार यो मुर्तिको लागी जङ्गबहादुरको तस्विर बि.सं. १९३१ माघमा बम्बईमा खिचिएको थियो । जसले गर्दा यो स्पष्ट हुन्छ कि जङ्गबहादुरले आफ्नो घोडचढी सालिक बनाउन आफैले लगाएका थिए ।
वि.सं. १९३१ मा जङ्गबहादुर दोश्रो पटक बेलायतको भ्रमणमा जान लागेका थिए । जहाजमा सामान राखिसकेको भए तापनि अन्तिम दिन बजार डुल्न जाँदा घोडाबाट लडेर चोट लागेपछि भ्रमण रद्ध गरिएको थियो । जङ्ग त जान चाहेका थिए तर बैद्धय तथा रानीहरूले जान दिएनन् । जङ्गको सालिक अनावरण हुनासाथ राजा, श्री ३ तथा अन्य अफिसरहरू दोश्रो सालिक अनावरण गर्ने हतारोमा लागि हाले ।
यसरी बेलायत र नेपालको गहिरो सम्बन्धका रूपमा सदैव यो सालिक रहिरहने दावी सहित श्री ३ रणोद्वीपले त्यस समय बक्तव्य दिए पनि राणाशासन समाप्त भए पछि पहिलो पटक बेलायती महारानी एलिजाबेथ नेपाल भ्रमणको तालिका प्राप्त हुना साथ राजा महेन्द्रले उपत्यकाका बाटोहरू चाक्लो बनाउने निहुँमा राणाहरुको बिच सडकमा भएको सबै सालिकहरु हटाउने बहाना भयो । मौका पर्खिरहेका महेन्द्रले सबै सालिकहरु हटाउन लगाए ।
टुँडिखेलका छेउछाउ तिर राखिएका सालिकहरू खासै संरक्षण भएको पाइदैन । जङ्गको सालिक हटाउने क्रममा जङ्गको सालिकमा रहेको तरवारको टुप्पो भाच्चियो । तर यो बनाउने चासो दिईएन । अहिले त संरक्षणको अभावले अझ टुटफुट भएको छ ।
प्रतिक्रिया