सोमबार, चैत १०, २०८१

अमेरिकी स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

नेपालखोज २०८१ माघ २८ गते ११:५९

काठमाडाैं । राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार संयुक्त राज्य अमेरिकाले यस हप्ता स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत भन्सार लगाउने बताएका छन् । यो उनले घोषणा गरेका व्यापार करको पछिल्लो शृङ्खला हो ।

Advertisement

एयर फोर्स वन विमानमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले सोमबार घोषणा गरिने भन्सार ‘संयुक्त राज्य अमेरिकामा आउने कुनै पनि स्टिल’ मा लागू हुने र यसले एलुमिनियमलाई पनि प्रभाव पार्ने बताए ।

सन् २०१७-२०२१ को राष्ट्रपति कार्यकालमा अमेरिकी उद्योगको सुरक्षाका लागि ट्रम्पले यस्तै शुल्क लगाएका थिए । यसलाई उनले एसियाली र युरोपेली देशबाट अनुचित प्रतिस्पर्धाको सामना गर्नुपरेको विश्वास गरेका थिए ।

अमेरिकी व्यापार तथ्याङ्कअनुसार क्यानाडा संयुक्त राज्य अमेरिकामा स्टिल र एलुमिनियम आयातको सबैभन्दा ठूलो स्रोत हो । ब्राजिल, मेक्सिको र दक्षिण कोरिया पनि देशका प्रमुख स्टिल आपूर्तिकर्ता हुन् । क्यानाडालाई ट्रम्पले पहिले नै भन्सारको धम्की दिइसकेका छन् ।

रिपब्लिकन अर्बपति ट्रम्पले आइतबार अन्य देशले अमेरिकी उत्पादनमा लगाएको दरसँग मिल्ने गरी आफ्नो सरकारको भन्सार बराबर गर्न ‘पारस्परिक भन्सार’ को घोषणा गर्ने पनि बताए ।

‘हरेक देशसँग पारस्परिक व्यवहार हुनेछ,’ ट्रम्पले भने । उनले मंगलबार वा बुधबार भन्सारको बारेमा विस्तृत घोषणा गर्ने बताए ।

राष्ट्रपतिले पदभार सम्हाले लगत्तै प्रमुख व्यापार साझेदार चीन, मेक्सिको र क्यानाडामा भन्सार लगाउने आदेश दिएर संयुक्त राज्य अमेरिकाको वित्तीय शक्तिलाई हतियार बनाउने आफ्नो रुचि देखाका छन् ।

क्यानाडा र मेक्सिकोले फेन्टानिल लागूपदार्थको प्रवाह र कागजातविहीन आप्रवासीको संयुक्त राज्य अमेरिकामा प्रवेशलाई रोक्न कडा कदम चाल्ने वाचा गरेपछि ट्रम्पले दुवै मुलुकविरुद्धको २५ प्रतिशत भन्सार एक महिनाका लागि रोके ।

तर चीनविरुद्धको भन्सार भने अघि बढ्यो । मङ्गलबारदेखि संयुक्त राज्यमा प्रवेश गर्ने उत्पादनमा १० प्रतिशत अतिरिक्त कर लाग्नेछ ।

बेइजिङले सोमबारदेखि लागू हुने गरी कोइला र तरलीकृत प्राकृतिक ग्यास जस्ता केही अमेरिकी उत्पादनमा लक्षित भन्सार लगाएर जवाफ दिएको छ ।

गोल्डम्यान स्याक्सका अनुसार नयाँ चिनियाँ भन्सारले १४ अर्ब डलर मूल्यका अमेरिकी सामान समेट्छ भने ट्रम्पले घोषणा गरेको भन्सारले पाँच खर्ब २५ अर्ब डलर मूल्यका चिनियाँ सामान समेट्छ ।

प्रतिक्रिया