नेशनल लघुवित्तको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

काठमाडौं । नेशनल लघुवित्र् वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित भएको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत बढेको छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले २१ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०६.६२ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १० करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८७.९६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३७.२५ प्रतिशत घटेको छ ।
त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ४६.८७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०६.६२ प्रतिशत बढेको छ । दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा २४ करोड १५ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ३४ पैसा रहेको छ । नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १३ रुपैयाँ १२ पैसा बढेर ३२ रुपैयाँ ३४ पैसा पुगेको छ ।
सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ दुई सय १९ रुपैयाँ ६७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४०.९१ गुणा रहेको छ । एक अर्ब ३३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा एक अर्ब ५९ करोड रुपैयाँ सञ्चित छ । लघुवित्तले पुस मसान्तसम्ममा २२ अर्ब ४५ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट २२ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
राष्ट्रियस्तरको यो संस्थाले स्थापनाको शुरुदेखि नै वित्तीय पहुँच अभिबृद्घि गराई नेपालको गरिबी घटाउने, वित्तीय समावेशीकरण बढाउने उद्देश्यले नेपाल भरी नै लघुवित्त सेवा प्रदान गर्ने अठोटका साथ अगाडि बढिरहेको छ । हाल देशभर संस्थाले १८४ वटा शाखा कार्यालयमार्फत ७४ जिल्लामा दुई लाख ३५ हजार ८३० जना विपन्न परिवारको घरमा लघुवित्त सेवा प्रदान गरिरहेको छ ।
यस संस्थाले नविनतम प्रविधिहरुको प्रयोग गरी छिटो छरितो र विश्वासनीय एवं दिगो सेवा प्रदान गर्दै कार्यक्रम विस्तारमा अग्रसर रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादु यादवले जानकारी दिए । उनले संस्थाले कृषि, पशुपालन, सेवा व्यवसाय तथा लघुउद्यम जस्ता व्यवसाय सञ्चालनको लागि विशेष गरी महिलालाई केन्द्रित गरी उत्तरदायी लघुवित्त सेवा उपलब्ध गराउँदै आएको बताए । समय सापेक्ष ग्राहकको चाहना अनुसार सेवा तथा सुविधाहरुमा परिष्कृत गर्दै लैजान व्यवस्थापन प्रतिवद्ध जनाए ।
आगामी आर्थिक बर्षमा वित्तीय पहुँच नपुगेका ग्रामीण क्षेत्रमा शाखा विस्तार गरी अझ प्रभावकारी रुपमा सेवा तथा सुविधाको विस्तार गर्ने लक्ष्य रहेको छ ।
प्रतिक्रिया