सोमबार, चैत १०, २०८१

हामी सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्छ : अध्यक्ष दाहाल

नेपालखोज २०८१ माघ २८ गते १९:२२

महोत्तरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सुशासन, समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताएका छन् ।

Advertisement

महोत्तरीको बर्दिबास–३ गौरीडाँडास्थित ‘आधारशीला’ स्थापनाको २२औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै आज उनले यसका लागि आफ्नो दलले समुदायमा आधारित गतिविधिलाई अघि बढाउने निर्णय गरेको बताए ।

‘भर्खरै पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न गरेका छौँ, अब हामी समुदाय आधारित काममा केन्द्रित हुनेछौँ’, अध्यक्ष दाहालले भने, ‘यसका लागि आगामी फागुन १२ गतेदेखि हुलाकी राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्दैछौँ ।’ उनले यस अभियानले यसअघि समुदायसँग अलगथलग बनेको सम्बन्धलाई सुधार्दै आगामी निर्वाचनमा आफ्नै बलबुतामा अगाडि बढ्ने गरी सहयोग पु¥याउने अपेक्षा व्यक्त गरे ।

समुदायसँगको अन्तर्घुलनबिना राजनीति, आर्थिक अवस्था र सांस्कृतिक रूपान्तरणका लक्ष्य पूरा नहुने भन्दै अध्यक्ष दाहालले पार्टीका सारा कामलाई जनकेन्द्रित बनाउन आधारभूत तहका पार्टी समितिले योजनाबद्ध काम अघि बढाउन पर्ने धारणा राखे ।

वार्षिकोत्सवमा माओवादी केन्द्रका उपमहासचिव तथा मधेस इञ्चार्ज मातृकाप्रसाद यादवले अब आफ्नो दल गुटपरस्त गतिविधिलाई चिर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । कार्यक्रममा ‘आधारशीला’ का परिकल्पनाकार तथा संस्थापक माओवादी केन्द्रका उपमहासचिब गिरिराजमणि पोखरेलले आधारशीला स्थापनाको औचित्यबारे प्रकाश पारे ।

विसं २०५९ साल माघ २५ गते तत्कालीन नेकपा एकता केन्द्रमा आबद्ध गिरिराजमणि पोखरेलसहितका नेताले सहिद परिवार र पार्टीका पूर्र्णकालीन कार्यकर्ताको आश्रयस्थलका रूपमा स्थापना गर्नुभएको ‘आधारशीला’ मा अहिले १६ परिवार सामूहिक रूपमा बस्दै आएका छन् ।

‘आधारशीला’ ले बर्सेनि माघ २५ गते स्थापना दिवस मनाउँदै आए पनि यसपालि प्रचण्डको अनुकूलता पार्न तीन दिनपछि कार्यक्रम आयोजना गर्नुपरेको समारोहमा जानकारी दिइएको थियो ।

माओवादी केन्द्रका नेताहरू उर्मिला अर्याल, विश्वनाथ साह र प्रह्लाद बुढाथोकीसहितको उपस्थिति रहेको समारोह अध्यक्ष दीपबहादुर योञ्जनको अध्यक्षतामा सम्पन्न भएको हो । रासस

प्रतिक्रिया