लेबनानका राष्ट्रपति साउदी अरब प्रस्थान

नेपालखोज २०८१ फागुन १९ गते १७:०८

लेबनानका राष्ट्रपति जोसेफ खालिल औनले कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणका लागि सोमबार साउदी अरबको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गगरेका छन् । उनले यसै बर्ष जनवरीमा लेवनानको राष्ट्रपतिका रूपमा सपथ गरेका थिए । रियाद र वासिङ्टनको समर्थनप्राप्त पूर्व सेना प्रमुख औन जनवरी ९ मा लेबनानको राष्ट्रपति निर्वाचित भएका थिए ।

उनको निर्वाचनले लेबनानमा राजनीतिक र आर्थिक सङ्कटका बीच दुई वर्षभन्दा बढी समयदेखिको शक्ति शून्यता अन्त्य गरेको थियो । इजरायलसँगको विनाशकारी युद्धका क्रममा लेबनानको इरान समर्थित हिजबुल्लाह कमजोर भएपछि उनको निर्वाचन सम्भव भएको थियो । उनको कार्यालयका प्रवक्ताले एएफपीसँग भने, लेबनान र समग्र अरब क्षेत्रको सुरक्षा तथा कुटनीतिक सम्बन्ध र लेबनानका लागि साउदी अरबको सैन्य सहायतालाई नवीकरण गर्न उनको भ्रमण फलदायी हुने विश्वास गरिएको छ।

लेबनान र साउदी अरबबीचको सम्बन्ध वर्षौंदेखि तनावपूर्ण रहँदै आएको छ । सन् २०१६ मा रियादले लेबनानी सेनालाई दिइने तीन अर्ब अमेरिकी डलरको सैन्य सहायता रोकेको थियो । मेरो भ्रमणका क्रममा म सम्भव भएसम्म सैन्य सहायता पुनः सक्रिय बनाउन प्रयास गर्नेछु, औनले साउदी अखबार अशरक अल अवसातलाई शुक्रबार दिएको अन्तर्वार्तामा भनेका थिए ।

लेबनानसँगको ‘ऐतिहासिक सम्बन्ध’ र क्षेत्रीय तथा विश्वव्यापी खेलाडीको रूपमा साउदी अरबको भूमिकाका कारण आफूले साउदी अरबलाई आफ्नो पहिलो गन्तव्यका रूपमा रोजेको राष्ट्रपति औनले बताए ।

उनले भने, साउदी अरबले हामीलाई दुबै देशको हितमा सम्बन्ध पुनस्र्थापित गर्न र हालका अवरोधहरू पार गर्न मद्दत गर्नेछ भन्ने मेरो विश्वास छ। लेबनानले ‘भिजन २०३०’ अर्थात् तेलभन्दा बाहिरको अर्थतन्त्रलाई विविधीकरण गर्ने रियादको पहलसँग सहकार्य गर्न सक्ने बताउँदै उनले ‘सामान्य आर्थिक सम्बन्ध निर्माण’ हुनेमा आशा आशा व्यक्त गरे ।

यसले साउदी नागरिकहरूलाई आफ्नो दोस्रो घर लेबनान फर्कन अनुमति दिनेछ भने लेबनानीहरू पनि साउदी अरबसँग पुनः जोडिन उत्सुक छन्, उनले भने । लेबनानमा सन् १९७५ देखि १९९० सम्म चलेको गृहयुद्धपछि हतियार राख्ने एक मात्र समूह हिजबुल्लाह लेबनानमा प्रमुख शक्तिका रुपमा रहँदै आएको छ । औनले ‘सकारात्मक तटस्थताको नीति’ र ‘अरब देशहरूसँग सर्वोत्तम सम्बन्ध’ को पनि प्रतिज्ञा गरे।

प्रतिक्रिया