वन ढडेलो नियन्त्रण गर्न अनुसन्धानलाई प्रथामिकता दिनुपर्नेमा जोड

नेपालखोज २०८१ फागुन १९ गते २०:१९

काठमाडौं । वन क्षेत्रमा बर्सेनि लाग्ने डढेलोका कारण जैविक विविधतामा ह्रास पुगेको भन्दै नियन्त्रणका लागि सरोकारवालाले वन व्यवस्थापनमा जोड दिएका छन् ।

देशभरका सामुदायिक वन उपभोक्ताको छाता सङ्गठन सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन)ले आज काठमाडौँमा आयोजना गरेको डढेलोसम्बन्धी अन्तरक्रियामा उनीहरुले वन डढेलो नियन्त्रणका लागि वन क्षेत्रको व्यवस्थापनमा जोड दिएका हुन् ।

वनविद् विजयराज पौडेलले पछिल्लो समय गाउँ बस्तीबाट मानिस बसाइँ सरेको वन क्षेत्रमा पातपतिङ्गर, दाउराजस्ता जैविक पदार्थ थुप्रिएका कारण वन डढेलो फैलिरहेको बताए ।

उनले डढेलो पूर्वतयारी र नियन्त्रणमा राज्यको लगानी बढाउन नसके बर्सेनि वन डढेलोको घटना बढ्दै जानेसमेत बताएका छन् ।

उनका अनुसार राम्रो घाँस दाउरा पलाउने लोभमा पहिले–पहिले वनमा मानिसले जानाजान आगो लगाउने गरेको र अहिले भने पिकनिक जाँदा आगो बाल्ने अनि छाडेर हिँड्दा, चुरोट खाएर जङ्गलमा फाल्दा, क्याम्प फायर गर्दा तथा कुनै रिसिइबीका कारण र काठ तस्कर गरेर प्रमाण नष्ट गर्नका लागि पनि मानिसले जङ्गलमा आगो लगाउने गर्छन् ।

उनले वनमा लाग्ने डढेलो ६० प्रतिशतभन्दा बढी मानवीय क्रियाकलापबाट हुने भन्दै जानाजान आगो लागाउनेलाई कडाइ कारबाही हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय विपद् जोखिम, न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको वातावरण अधिकृत रिना चौधरीले २० मिलिमिटरसम्मको वर्षा हुँदा पनि डढेलो नियन्त्रण भने हुन नसकेको बताए ।

नेपाल जस्तो मुलुकका लागि हेलिकप्टरलगायतका अत्याधुनिक सामग्री प्रयोगबाट डढेलो नियन्त्रण गर्न सम्भव नभएको उनको भनाइ छ ।

यसैगरी पारिवारिक निजी वन सङ्घ नेपालका अध्यक्ष जोगराज गिरीले पनि डढेलोबाट वन जोगाउन सहकार्य र प्रभावकारी नीति कार्यान्वयनको आवश्यकता रहेकामा जोड दिएका छन् ।

यसैगरी फेकोफनको महासचिव पार्वता गौतमले पनि वन डढेलोबाट घाइतेलाई समयमामा नै उद्धार, पीडितलाई राहत उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् ।

फेकोफन भक्तपुर जिल्ला अध्यक्ष पार्वती नगरकोटीले आफूहरुले समूहरुमा डढेलो नियन्त्रण र सुरक्षासम्बन्धी व्यापक जनचेतना अभिवृद्धि गराएको जानकारी दिए । उनका अनुसार स्थानीय तहको सहकार्यमा डढेलो नियन्त्रणका गतिविधि अगाडि बढाइएको छ । रासस

प्रतिक्रिया