शुक्रबार, वैशाख १२, २०८२

द क्लिफमा प्रहरीको ‘कमाण्डो’का प्रशिक्षार्थीको बञ्जी जम्प

नेपालखोज २०८१ फागुन २५ गते १३:४४

काठमाडौं । कुस्मास्थित द क्लिफमा नेपाल प्रहरीको प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो)का प्रशिक्षार्थीले बञ्जी जम्प गरेका छन् ।

तालिम संयोजक प्रहरी नायब उपरीक्षक गणेशबहादुर बरालको संयोजनमा क्लिफमा प्रहरीलाई बञ्जी जम्प गराइएको महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक दीपशमशेर जबराले जानकारी दिए । जस्तोसुकै अवस्थाका लागि कमाण्डोलाई तयार गर्न साहसिक गतिविधिमा संलग्न गराइएको हो, प्रहरी वरिष्ठ उपरीक्षक जबराले भने, द क्लिफसँग केही वर्षदेखि हामीले सहकार्य गर्दै आएका छौँ । उनका अनुसार १०६ जना प्रशिक्षार्थी प्रहरीले बन्जी जम्प गरेका हुन् ।

नेपाल प्रहरीले तालिमका क्रममा प्रशिक्षार्थीहरुलाई विभिन्न साहसिक खेलमा सहभागी गराउँदै आएको छ । यसअघि पनि सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले तालिमका क्रममा द क्लिफमा बञ्जी जम्प गरिसकेको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए । हामी पनि नेपाल प्रहरीको तालिमको हिस्सा बन्न पाउँदा खुसी छौँ, आगामी दिनमा पनि यसप्रकारको सहकार्यलाई निरन्तरता दिनेछौँ, उनले भने ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बागलुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्वीङ र विश्वकै दोस्रो अग्लो बञ्जी जम्प सञ्चालन हुँदै आएको छ । बन्जी र स्वीङसँगै क्लिफमा रहेको रिसोर्टमा लग्जरी कटेज पनि छ । इन्फिनिटी स्विमिङ पुल र सम्मेलन हल निर्माणाधीन छन् । क्लिफमा विश्वकै अग्लो व्यावसायिक स्काइ साइक्लिङ, मेगा ट्रोल, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ चियरलगायत गतिविधि सञ्चालनमा छन् ।

प्रतिक्रिया