आइतबार, वैशाख १४, २०८२

भोजपुरका ७५० किसानलाई कृषि सामग्री हस्तान्तरण

नेपालखोज २०८१ चैत ७ गते ८:२६

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले ७५० किसानलाई कृषि सामग्री वितरण गरेको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यले यहाँका किसानलाई ५१ लाख रुपैयाँ बराबरको कृषि सामग्री वितरण गरिएको हो ।

गाउँपालिकाले किसानको मागको आधारमा ५० प्रतिशत अनुदानमा आवश्यक कृषि सामग्री वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । किसानलाई व्यावसायिक अकबरे खुर्सानीखेतीको लागि मल्चिङ प्लाष्टिक, प्लाष्टिक टनेल, हातेट्र्याक्टर, प्लाष्टिक पोखरी, स्प्रे गरी ५१ लाख रुपैयाँ बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको प्रशासकीय अधिकृत भट्टराईले बताए ।

किसानलाई एक हजार पाँच सय रोल मल्चिङ प्लाष्टिक, सात सय वटा टनेल प्लाष्टिक, ७८ वटा इलेक्ट्रिक स्पेरियर, १५ वटा हाते ट्र्याक्टर विरतण गरिने उनको भनाइ छ । किसानले गरिरहेको व्यवसायको आधारमा आवश्यक सहयोग गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताए । किसानलाई व्यावसायिक बनाएर आर्थिक रुपमा सक्षम बनाउन ठूलो लगानीमा कृषि सामग्री वितरण गरिएको उपाध्यक्ष राईको भनाइ छ ।

यहाँको भूगोलअनुसार पकेट क्षेत्र निर्धारण गरेर कृषिमा योजनाबद्ध रुपमा लगानी गरिरहेको गाउँपालिकाले जनाएको छ । कृषिमा नमूना बनाउने लक्ष्यका साथ लगानी गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । यहाँको उत्पादित कृषिउपजको बजारीकरणमा गाउँपालिकाले भूमिका खेल्ने अध्यक्ष राईको भनाइ छ ।

गाउँपालिकाले कृषि सामग्रीसँगै अन्य सहयोग गरेपछि व्यावसायिक ढङ्गले कृषिमा लाग्न प्रोत्साहन मिलेको स्थानीय किसान टेकबहादुर थापाले बताए । विगतबाट नै गाउँपालिकाले किसानलाई आवश्यक सहयोग गरिरहेको उनको भनाइ छ ।

पौवादुङमा गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्न गरिरहेको काम प्रशंसायोग्य रहेको स्थानीय किसान बालकुमार खड्काले बताए । गाउँपालिकाको सहयोगले कृषिमा लाग्न थप टेवा पुगेको उनको भनाइ छ ।

प्रतिक्रिया