सोमबार, वैशाख ८, २०८२

लहानमा आधुनिक तरकारी बजार

नेपालखोज २०८१ चैत १० गते १३:४३

सिरहा । लहान नगरपालिकाले कृषि उत्पादनको व्यवस्थित बजारीकरणलाई प्राथमिकता दिँदै यहाँको नयाँबजारस्थित खुट्टीखोला किनारामा आधुनिक तरकारी बजार बनाइने भएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले दुई करोड २९ लाख ७४ हजार ५२० रूपैयाँ लागतमा बन्ने पक्की संरचनाको आज शिलान्यास गरे ।

जनसङ्ख्या र व्यपार व्यवसायका दृष्टिकोणले लहान मधेस प्रदेशकै तेस्रो स्थानमा पर्ने भएकाले यहाँका किसानका उत्पादनलाई व्यवस्थित गरी बजारीकरण गर्न आधुनिक संरचना निर्माण गर्न लागेका नगरप्रमुख चौधरीको भनाइ छ ।

नगरप्रमुख चौधरीका अनुसार तीनवटा ‘ब्लक’ मा ८४ वटा सटरसहित दुई तले पक्की संरचना निर्माण हुनेछ । किसानलाई उत्पादन बिक्री गर्न सहज हुनेगरी स्टल उपलब्ध गराइने पनि उहाँले जानकारी दिए । हो विसं २०८३ असार २० गतेसम्म सम्पन्न गर्नेगरी निर्माणको ठेक्का सम्झौता भएको छ । लामो समयदेखि व्यवस्थित हाट बजार बनाउन प्रयास हुँदै आएको भए पनि यस पटक काम सुरू भएकाले यहाँका तरकारी व्यवसायीलाई उत्साहित तुल्याएको यहाँका हाटबजार समितिका अध्यक्ष राजकुमार साहले बताए ।

बढ्दो जनसङ्ख्याको चापसँगै व्यवस्थित बजारको अभावमा राजमार्ग किनारमै बाटोलाई छेकेर तरकारी बजार सञ्चालन समेत हुने गरेको थियो । आधुनिक बजारमा सेवा सुरू भएपछि दैनिक करोडौँको कारोबार हुने अपेक्षा व्यवसायीले गरेका छन् ।

प्रतिक्रिया