किन बढ्दै छ, वायु प्रदूषण ?

काठमाडौं । वायु प्रदूषणका कारण काठमाडौं उपत्यका केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ कोे तथ्याङ्क हेर्दा बिहीबार मध्याह्नसम्ममा पनि पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भई वायु प्रदूषण ३४८ एक्युआईसम्म पुगेको थियो ।
प्रदूषण बढेसँगै विभिन्न सरकारी निकायदेखि वातावरणविज्ञ तथा चिकित्सकले विषेश चासो दिँदै सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेका छन् । प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका उपप्रधानमन्त्री प्रकाशमान सिंहले बिहीबार सरोकारवालासँग भेट गरी प्रदूषणलाई कसरी रोक्ने ? र असर कम गर्ने विषयमा छलफल गरेका थिए ।
बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति नै जारी गर्दै उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो । सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकाङ्कानुसार ०-५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्छ ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले वायु प्रदूषणका कारण दम, फोक्सोका रोग, आँखाको समस्या, नाक र घाँटीमा एलर्जी, छालामा समस्या, हृदयरोग तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिन सक्ने भएकाले संवेदनशील समूहहरू-बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोगीलाई विशेष सतर्कता अपनाउन सुझाव दिए ।
विपद् व्यवस्थापन तथा जलवायुविद् डा धर्मराज उप्रेतीले पश्चिमी वायु कमजोर हुँदा बर्षा हुन पनि नसकेको र हावासमेत चल्न नसक्दा प्रदूषण जहाँको तहीँ थुप्रिएर पनि वायु प्रदूषण बढिरहेको बताए ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् प्रतिभा मानन्धरले भने यो साता नै वर्षाको सम्भावना रहे पनि मौसम धुम्म नै रहने बताए । मानन्धरले वर्षा नहुँदा वातावरणीय प्रदूषण बढ्नुका साथै भिजिबिलिटी पारदर्शिता कम भई त्रिभुवन अन्तरराष्ट्रिय विमास्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको बताए ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार चार वर्षयता हिउँदे वर्षा कम भएको प्रिमनसुन लागिसक्दा पनि राम्रोसँग वर्षा हुन नसक्नु, वन डढेलो तथा अन्य आगलागीका घटना बढ्नु, वातावरणमैत्री पूर्र्वाधार निर्माण हुन नसक्नुलगायत कारण प्रदूषण बढेको छ ।
जेठसम्म वायु प्रदूषण उच्च
विभागले नेपालमा विशेषगरी मङ्सिरदेखि जेठसम्म वायु प्रदूषण उच्च हुने गरेको भन्दै यस समयमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । वायु प्रदूषणको मुख्य कारण उद्योग, कलकारखाना र सवारीसाधनबाट निस्कने धुँवा, निर्माणकार्य, खुला रूपमा फोहर तथा कुहिने अवशेष जलाउनु, घरबाट निस्कने धुँवा, सडक तथा निर्माणकार्यबाट उड्ने धुलो आदि रहेको विभागले जनाएको छ ।
विभागले वायु प्रदूषणको समयमा मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने हुँदा बालबालिका, वृद्धवृद्धा, दमका बिरामी, गर्भवतीलाई बढी प्रभाव पर्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेको छ ।
डढेलोको कारण प्रदूषण
डढेलोविद् सुन्दर शर्माले यस वर्ष पनि हिउँदमा कम पानी पर्नु तथा प्रिमनसुन सुरु भएपछि पनि वर्षा हुन नसक्दा डढेलोको घटना बढेको र यसले वातावरणीय प्रदूषण बढाइरहेको बताए ।
मुटुरोगीलाई बढी असर
पछिल्लो समय बढिरहेको वायु प्रदूषणका कारण विशेषगरी मुटुरोगीलाई बढी असर गर्ने भएकाले सतर्कता अपनाउनुपर्ने बताउनुहुन्छ, मुटुरोगी विशेषज्ञ डा रञ्जित शर्मा ।
आँखा समस्या
तिलगङ्गा आँखा प्रतिष्ठानका आँखारोग विशेषज्ञ डा मुना कुँवरले प्रदूषित वायुमा हुने ब्याक्टेरिया वा भाइरसले आँखामा सङ्क्रमण गर्न सक्ने र जसले कन्जक्टिभाइटिस (आँखा पाक्ने रोग)जस्ता समस्या निम्त्याउन सक्ने र हावामा रहेका प्रदूषक तत्वहरूले आँसु बनाउने ग्रन्थीलाई असर गरी आँखा चिलाउने, पोल्ने र रातो हुने समस्या आउने भन्दै सतर्कता अपनाउन आग्रह गरे ।
छालामा पनि समस्या
छालारोग विशेषज्ञ डा प्रज्ज्वल पुडासैनीले प्रदूषणका कारण छालामा पनि विभिन्न प्रकारका समस्या निम्तिन सक्ने भन्दै यस्तो बेला उच्च सतर्कता अपनाउनुपर्ने सुझाव दिए ।
‘प्रदूषण बढेको बेलामा केमिकल र धुलोका कणले छालामा एलर्जी गराउन सक्छ । जसले गर्दा छाला रातो हुने, पोल्ने वा दाग आउन सक्छन् । डन्डिफोर पनि आउन सक्छ । छालाको चमक हराउन सक्छ’, उनले भने, “प्रदूषणले छालाको रोग प्रतिरोधी क्षमता कम गर्न सक्छ, जसले गर्दा विभिन्न प्रकारका सङ्क्रमण हुनसक्छ । छाला सुक्खा हुने र चिलाउने समस्या आउनुका साथै छालाको क्यान्सरसमेत हुनसक्छ ।’
यसैगरी पुडासैनीले वायु प्रदूषणका कारण घाम तथा हावामा धेरै समय बस्ने वा काम गर्ने व्यक्तिको छालामा बढी असर गर्ने र प्रदूषणका कारण कम उमेरमा नै छाला चाउरिएर बुढ्यौलीपनजस्तो देखिने बताए ।
गर्भवती प्रभावित
काठमाडौँ नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालका स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डा जितेन्द्र परियारले वायु प्रदूषणका कारण सामान्य मानिसलाई भन्दा बढी गर्भवतीलाई असर गर्ने बताए ।
‘गर्भवतीले धुमपान गर्न हुँदैन, जसरी धुमपानले बच्चाको वृत्तिविकासलाई असर गर्छ, त्यसरी नै प्रदूषणका कारण पनि गर्भमा रहेको बच्चालाई असर गर्छ’, उनले भने, ‘प्रदूषण न्यूनीकरणका लागि राज्यले नीति नै बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । यस्तो बेलामा सकेसम्म गर्भवतीहरू घर बाहिर ननिस्कने, निस्कनै पर्दा माक्सको प्रयोग गर्नुपर्छ ।’
जनचेतनासहित आपत्काल घोषणा गर्न सुझाव
वातावरणविद् भूषण तुलाधारले प्रदूषण वृद्धिको अवस्था हेरेर आपत्कालीन अवस्था घोषणा गर्न सरकार अब तयार हुनुपर्ने बताए ।
स्वच्छ वातावरणको हक खोइ ?
वातावरण कानुनका विज्ञसमेत रहनुभएका वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले संवैधानिक सर्वोच्वता भएका मुलुकमा स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक हक कार्यान्वयन नहुँदा मानवअधिकार नै हनन भएको भन्दै टिप्पणी गरे ।
नेपालको संविधानको धारा ३० मा स्वच्छ वातावरणको हक प्रत्याभूत गरिएको छ । नेपालको संविधानको धारा ३० को उपधारा ९१० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक व्यवस्था गरिएको छ । नेपालको संविधानको धारा ३० को उपधारा ९२० मा वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हकको सुनिश्चित गरिएको छ । धारा ३० को उपधारा ९३० मा राष्ट्रको विकाससम्बन्धी कार्यमा वातावरण र विकासबीच समुचित सन्तुलनका लागि आवश्यक कानुनी व्यवस्था गर्न यस धाराले बाधा पुर्याएको मानिने छैन भनी उल्लेख छ ।
संविधानको भाग ४ मा उल्लेखित राज्यका नीतिमा वातावरणीय सन्तुलन, पर्यावरणीय दिगो विकास, प्राकृतिक प्रकोपबाट हुने क्षतिको न्यूनीकरण गर्न पूर्वतयारी, उद्धार, राहत एवं पुनःस्थापना, प्राकृतिक साधन स्रोतको संरक्षण, संवर्द्धन र उपयोग, वातावरण अनुकूल विकास, विकासमा सहभागिता अभिवृद्धिलगायत व्यवस्था समेटिएको छ ।
नीतिगत व्यवस्था कस्तो छ ?
काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि सरकारले निर्धारण गरेको एक्युआइको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रूपमा लिने बताएको छ । यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख छ ।
राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार प्रदूषण न्यूनीकरण गर्न जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण, जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने सरकारको रणनीति छ । प्रमुख सहर, औद्योगिक प्रतिष्ठानलगायत प्रदूषणको जोखिममा रहेका क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना र सञ्चालन गर्दै वायु, जल, ध्वनि गुणस्तरको नक्साङ¬्कन गरिने रणनीतिमा उल्लेख छ ।
काठमाडौँ उपत्यकाको वायु साँच्चिकै हानिकारक र यसको गुणस्तर खस्किने क्रम तीव्र रूपमा निरन्तर बढिरहेको सम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय अध्ययन प्रतिवेदन आइरहेका छन् । सार्वजनिक ‘इन्भारोमेन्ट परफर्मेन्स इन्डेक्स २०१८’ को १८० मुलुकमा गरिएको अध्ययनमा वायु प्रदूषण बढी भएका पाँच राष्ट्रको सूचीमा नेपाल परेको छ ।
वातावरण विभागले उपत्यकालाई लक्षित गरी धुलिखेल, पुल्चोक, रत्नपार्क, त्रिवि कीर्तिपुर, सैँबु, सैनिक विद्यालय भक्तपुरमा प्रदूषण मापन केन्द्र स्थापना गरेको छ । सेन्ट्रल सिस्टममा डाटा जाने र सर्वसाधारणले प्रदूषण अवस्थाको जानकारी लिनसक्ने व्यवस्था मिलाइएको छ ।
दीर्घकालीन रणनीति आवश्यक
वातावरणविद् भूषण तुलाधारले बर्सेनि हिउँद र प्रिमनसुनको समयमा वातावरणीय प्रदूषण बढिरहेको भन्दै न्यूनीकरणका लागि मुलुकभर प्रदूषण न्यूनीकरणसम्बन्धी दीर्घकालीन रणनीति आवश्यक रहेको र त्यसकोे प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए ।
राष्ट्रिय जनगणना २०७८ मा ५१ प्रतिशतले अझै दाउरा र तीन प्रतिशतले गुइँठा बाल्ने गरको देखाउँछ । ‘घरभित्रको प्रदूषणले महिला तथा बालबालिकालाई अझै बढी प्रभाव पार्छ’, तुलाधारले भने, ‘नेपालमा वार्षिक ४८ हजार ५०० जनाको मृत्यु वायु प्रदूषणबाट हुने गरेको पछिल्लो अध्ययनले देखाएको छ ।’
प्रदूषण नगर्न निर्देशन
वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरणीय प्रदूषण गर्नेलाई अबदेखि प्रदूषण नगर्न निर्देशन दिए पनि कडाइका साथ कारबाही भने गर्न नसकिएको बताए ।
महानिर्देशक सुवेदीका अनुसार प्रदूषण न्यूनीकरणका लागि विभागले व्यापक रूपमा जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिएको छ, प्रदूषण गराउनेलाई निर्देशन गरेर सुझाव दिइएको छ । विभागले डढेलो लगाउने कार्य सार्वजनिक अपराध भएको हुँदा यस्ता कार्य नगर्न, घरायसी ठोस तथा प्लाष्टिकजन्य फोहर र कृषिजन्य अवशेष नजलाउन, सवारीसाधनको नियमित मर्मतसम्भार गर्न, उद्योग कलकारखाना तथा भान्सामा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माणकार्यबाट उड्ने धुँवाधुलोको यथोचित नियन्त्रण गर्न सुझाव दिएको छ ।

प्रतिक्रिया