रिक्सा चालक महिलाको कथाः गुजारा चलाउन सहज

तिलोत्तमा (रुपन्देही) । बुटवल उपमहानगरपालिका–८ की रीता अधिकारीको दैनिक गुजारा राम्रो चलिरहेको छ । उनी दिनभरि ई–रिक्सा चलाउछिन् । त्यसबाट उनी दैनिक करिब एक हजार ७०० कमाउछिन् । यही कमाईबाट उनी दैनिक गुजारा चलाउछिन् । उमेरले ४० वर्ष पुगेकी रीताका २१ र १५ वर्षका छोरी छिन् । उनले दिनभरि ई–रिक्सा चलाएर कमाएको पैसाले दुई छोरीको पढाइ खर्चसँगै घर खर्च चलाएकी छिन् ।
कास्कीको रुपा गाउँपालिका–२ स्थायी घर भएकी रिताले यसअघि बुटवलमा एउटा सहकारी संस्थामा सामान्य जागिर गरिन् । उक्त जागिरको पारिश्रमिकबाट घरपरिवारको खर्च धान्न समस्या परेपछि विकल्पमा ई–रिक्सा चलाउन थालेको उनले बताइन् । सहकारीको जागिर छाडेर सुरुमा रिक्सा भाडामा लिएर चलाएकी रीताले अहिले भने आफैँ रिक्सा किनेर चलाउँदै आएकी छिन् । बुटवलको नयाँ बसपार्कलाई केन्द्र बनाएर बुटवलका विभिन्न स्थानमा उनी यात्रुलाई पुर्याउने गरिन् ।
कामलाई कहिल्यै पनि सानोठूलो नठान्ने उहाँ कहिलेकाहीँ महिला चालक भनेर कतिपय यात्रुले हेप्ने गर्दा दुःख लाग्ने गरेको बताइन् । हामी पनि पुरुषसरह नै काम गर्छौं, तर कतिपयले महिला भनेर हेयको दृष्टिकोणले हेर्ने गर्छन्, उनले भनिन्, कतिपय यात्रुले त गन्तव्यमा पुगेपछि भाडा दिने बेलामा झगडा नै गर्छन् ।
रिक्सा चालक रीताको उपमहानगरपालिकाप्रति गुनासो छ । यति ठूलो नगरभित्र एउटा सार्वजनिक शौचालय पनि छैन, शौचालय जानुपर्ने अवस्थामा समस्या छ, उनले भनिन्, पार्किङको पनि त्यस्तै ठूलो समस्या छ । अटो रिक्सा चालकहरु दोहोरो करको मारमा परेको बताउँदै यस विषयमा स्थानीय सरकारले ध्यान दिनुपर्ने रीताको भनाइ छ ।
बुटवल–१२ नयाँगाउँ घर भएकी ३९ वर्षीय खिमाकुमारी विक पनि विगत आठ वर्षदेखि रिक्सा चलाउने काम गरिन् । सुरुका एक वर्ष भाडामा रिक्सा चलाएकी खिमाले त्यसपश्चात् आफैँले रिक्सा किनेर चलाउन थालेका हुन् । उनी भाडाको रिक्सा चलाउँदा कमाई हुन नसके पनि दैनिक रुपमा रिक्साधनीलाई भाडा बुझाउन बाध्य हुनुपर्ने भएकाले आफैँ रिक्सा किनेर चलाउन थालेको बताइन् ।
खीमाका श्रीमान् भारतको मुम्बईमा रोजगारीमा हुन् भने २१ वर्षकी एक छोरी र १९ वर्षका छोरा घरमै छन् । यो कामबाट आत्मसन्तुष्टि मिलेको बताउने खीमा दैनिक एक हजार २०० देखि एक हजार ५०० सम्म कमाई हुने गरेको बताइन् ।
यस्तै, बुटवल देवीनगर अस्थायी बसोबास गर्ने एकल महिला मीना नेपालीले पनि रिक्सा चलाएरै आफ्नो चारजनाको परिवारको गुजारा चलाइरहेका छन् । गुल्मीको छत्रकोट गाउँपालिका–५ की उनले विगत सात वर्षदेखि बुटवलमा रिक्सा चलाउँदै आएका छन् । विगत तीन वर्षअगाडि आफैँले नयाँ रिक्सा लिइन् ।
भाडाको रिक्सा चलाउँदा कमाएको पैसा साहुलाई बुझाउँदा आफ्नो लागि पैसा नै नबच्ने, अहिले त आफ्नै रिक्सा छ, जति कमायो सबै आफ्नै हुन्छ, उनले भने । बिहान घरको काम सकेर ११ देखि साँझ ६ बजेसम्म उनले रिक्सा चलाइन् । बुटवलमा नजिकैको दूरीमा ३० त्योभन्दा अलि टाढा १०० सम्म भाडा तय भएको उनले बताइन् ।

प्रतिक्रिया