पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–१ घर भई बुढानिलकण्ठ नगरपालिका–६ बस्ने ३९ वर्षीय राजु बिक्रम राणा, ३५ वर्षीया रोशनी राणा र टोखा नगरपालिका–९ बस्ने कञ्चनपुर बेदकोट नगरपालिका–१० घर भएका ३३ वर्षीय भिम बहादुर महर रहेका छन् ।
राजु र रोशनीले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख १२ हजार रूपैयाँ तथा भिम बहादुरले २ जना पीडितहरूबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजु र रोशनीलाई काठमाडौं महानगरपालिका–६ बौद्ध तथा भिम बहादुरलाई काठमाडौं महानगरपालिका–२६ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–९ सिनामंगल डेरा गरी बस्ने सिराहा धनगढी नगरपालिका–७ गोलबजार घर भएका २७ वर्षीय राम बिहारी साफीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
प्रेम सम्बन्धमा रहँदाका अन्तरङ्गसँग सम्बन्धित तस्विर-भिडियो सम्बन्ध बिग्रिए पश्चात सामाजिक सञ्जालमा पोष्ट गरिदिने र पीडितका आफन्तलाई पठाइदिने भनि धम्काउने, दुख हैरानी दिएको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया