आणविक सम्झौतामा इरानसँग ‘प्रत्यक्ष वार्ता’ गर्ने ट्रम्पको चाहना

नेपालखोज २०८१ चैत २१ गते २०:२९

काठमाडौं‌ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार तेहरानसँग आणविक सम्झौताबारे ‘प्रत्यक्ष वार्ता’ चाहेको बताएका छन् । यसअघि उनले इरानले आणविक हतियार विकास गरे बम हान्ने धम्की दिएका थिए ।

दशकौँदेखि पश्चिमी राष्ट्रसँगको सम्बन्धलाई तनावपूर्ण बनाएको देशको आणविक कार्यक्रममा सहमतिमा पुग्न ट्रम्पले इरानी नेतालाई दुई महिनाको समयसीमा दिए ।

संयुक्त राज्य अमेरिकासहितका पश्चिमी देशहरूले लामो समयदेखि इरानलाई आणविक हतियारको खोजी गरेको आरोप लगाएका छन् । उक्त आरोपलाई तेहरानले अस्वीकार गर्दै यसको समृद्धिकरण गतिविधिहरू शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको दाबी गरेको छ ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले गत हप्ता तेहरानले ‘इरानप्रति अर्को पक्षको दृष्टिकोणमा परिवर्तन नआएसम्म’ वासिङ्टनसँग प्रत्यक्ष वार्ता नगर्ने बताएका थिए ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पूर्ववर्ती बाराक ओबामाले सन् २०१५ मा गर्नुभएको आणविक सम्झौता रद्द गर्नुभएको थियो र इरानमाथि कठोर प्रतिबन्ध लगाए ।

तेहरान र विश्व शक्तिहरूबीच सम्पन्न भएको सो सम्झौताले इरानलाई प्रतिबन्धबाट राहत दिने बदलामा आफ्नो आणविक महत्त्वाकांक्षालाई सीमित गर्न बाध्य पारेको थियो ।

गत महिना ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई आणविक वार्ताको आह्वान गर्न र तेहरानले अस्वीकार गरेमा सम्भावित सैन्य कारबाहीको चेतावनी दिन पत्र लेखेको बताए ।

खामेनीले अमेरिकी धम्कीहरूले ‘उनीहरूलाई कतै पनि पुर्‍याउने छैन’ भन्दै इरानविरुद्ध ‘यदि उनीहरूले केही हानिकारक गरे भने’ पारस्परिक उपायको चेतावनी दिएका थिए ।


प्रतिक्रिया