आइतबार, वैशाख १४, २०८२

प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

नेपालखोज २०८२ वैशाख १४ गते १३:०३

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले राजधानीमा भइरहेका विभिन्न प्रदर्शन, प्रदर्शन, मौलिक हकको कार्यान्वयनका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण, सामाजिक सञ्जालको दर्तालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा उनीहरूले शिक्षक, चिकित्सक, लघुवित्त र सहकारी पीडितको प्रदर्शनलाई सम्बोधन गर्न, पहाडी क्षेत्रमा भइरहेको खानेपानीको अभाव अन्त्य गर्न आगामी बजेटमा विशेष व्यवस्था गर्न, सामाजिक सञ्जालको दर्ता प्रक्रियामा रहेको कानुनी व्यवधान अन्त्य गर्न सरकारलाई सुझाव दिए ।

सांसद अर्जुननरसिंह केसीले शिक्षकसँग यसअघि भएका सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै प्रदर्शनरत शिक्षक, आवासीय चिकित्सक, स्थानीय कर्मचारी, लघुवित्त र सहकारी पीडितका समस्या समाधानमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए । सांसद अम्मरबहादुर थापाले शिक्षकसँग तत्काल वार्ता र संवाद गरेर माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद कान्तिका सेजुवालले शिक्षकसँग यसअघि भएका सहमतिको कार्यान्वयन गर्दै नि:शुल्क र गुणस्तरीय शिक्षा पाउने विद्यार्थीको हक सुनिश्चित गर्न आग्रह गरे । उनले आगामी आवमा कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्न अनुरोध गरे ।

सांसद गङ्गा कार्कीले विभिन्न माग राखेर सडकमा आन्दोलन गरिरहेका शिक्षक, चिकित्सक र लघुवित्त पीडितलगायतको माग पूरा गर्न सरकारसँग आग्रह गरे । सांसद आश्माकुमारी चौधरीले जनभावना सम्बोधन हुने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिए । डा अमरेशकुमार सिंहले राष्ट्र प्रमुख, सरकार प्रमुख तथा मन्त्रीहरूको वैदेशिक भ्रमणका क्रममा प्राप्त उपहारलाई सङ्ग्रहालय बनाएर राख्न सुझाव दिए ।

सांसद असिम साहले सामाजिक सञ्जाल नेपालको कानुनअनुसार दर्ता भएर सञ्चालित हुनुपर्नेमा जोड दिँदै त्यस्ता कानुनमा भएका उल्झन हटाउन सुझाव दिए । सांसद ईश्वरबहादुर रिजालले जनताको सङ्घर्षबाट परास्त भएको राजतन्त्र नफर्कने उल्लेख गर्दै पश्चगामी सोच र चिन्तन जनतालाई सैह्य नहुने बताए ।

सांसद ईश्वरी घर्तीले पिउने पानीको अभावमा पहाडी क्षेत्रका नागरिकले सास्ती व्यहोर्नुपरेको जनाउँदै आगामी आवको बजेट निर्माणका क्रममा प्रत्येक वडामा ‘रिचार्ज’ पोखरी निर्माणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया