आइतबार, वैशाख १४, २०८२

‘सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट निर्माणमा लागौँ’

नेपालखोज २०८२ वैशाख १४ गते १६:१४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट निर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन् । ऊर्जा मन्त्रालयमा आज भएको चालु आर्थिक वर्षको खर्चसम्बन्धी समीक्षा बैठकमा उनले आगामी आवको बजेट सबै क्षेत्र, भूगोल र आवश्यकतालाई समेटेर बनाउनुपर्ने बताए ।

बजेटको न्यायोचित वितरण हुनुपर्ने भन्दै उनले मन्त्रालयको कामलाई थप प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिनुपर्ने उल्लेख गरे । ऊर्जामन्त्री खड्काले मन्त्रालयभित्र हुने अनावश्यक खर्च रोक्नुपर्ने धारणा राख्दै मातहतका सबै निकाय र कर्मचारीले नतिजा देखिने गरी काम गर्नुपर्ने बताए ।

ऊर्जा सचिव सुरेश आचार्यले राष्ट्रिय गौरवका बहुउदेश्यीय आयोजनाको सन्तोषजनक प्रगति हुन नसकेको बताए । उनले आगामी आवको बजेट तथा कार्यक्रमलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिँदै विनियोजित बजेट कार्यान्वयनमा सबै इमान्दार बन्नुपर्ने उनको भनाइ छ ।

सचिव आचार्यले सरकारले भर्खरै ल्याएको ऊर्जा विकासका लागि मार्गचित्रको लक्ष्यलाई हासिल गर्न बजेटको अपर्याप्तता रहेको भन्दै बजेटको सिलिङ बढाउन मन्त्रालय प्रयासरत रहेको बताए ।

प्रतिक्रिया