सोमबार, वैशाख १५, २०८२

‘अर्थतन्त्रका आन्तरिक चुनौती कायमै छन्’

नेपालखोज २०८२ वैशाख १४ गते १८:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख देखिए पनि आन्तरिक रुपमा अझै सङ्कटग्रस्त रहेको बताएकी छन् ।

राष्ट्र बैंकको ७०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कामु गभर्नर ढुङ्गानाले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा आउन थालेको समेत उल्लेख गरिन् । बाह्य सूचकहरु सबल बन्दै गएपनि आन्तरिक अर्थतन्त्रमा संरचनागत एवम् व्यवस्थापनजन्य विषयहरूको सम्बोधन अत्यावश्यक भइसकेको उनको भनाइ छ ।

यद्यपि केही सूचकहरु क्रमशः सुधार हुँदै गएको पनि उनले उल्लेख गरनि् । मुद्रास्फीति लक्षित सीमाभित्रै रहेको, आयात तथा निर्यात व्यापारमा सुधार भएको एवम् बैंकिङ क्षेत्रबाट प्रवाहित कर्जा बिस्तारले समेत गति लिन थालेको ढुङ्गानाको भनाइ छ ।

नेपालको बाह्य क्षेत्र सबल हुँदै गएको पनि ढुङ्गानाले उल्लेख गरे । दुई वर्षदेखि घट्दै गएको वस्तु निर्यात र आयात चालु आर्थिक वर्षको कात्तिकदेखि बढ्न थालेको छ, विप्रेषण आप्रवाह र पर्यटन आयमा वृद्धि भएका कारण देशको शोधनान्तर बचतमा रहन गई विदेशी विनिमय सञ्चिति बढेको, वित्तीय पहुँच र डिजिटल अर्थतन्त्रको बिस्तारमा उल्लेख्य प्रगति भएको जस्ता सुधार अर्थतन्त्रमा देखिएको कामु गभर्नर ढुङ्गानाले बताइन् ।

पछिल्लो समय विश्व अर्थतन्त्रमा विभिन्न नयाँ आयामहरू देखा परेका छन् । एकातिर जारी रुस–युक्रेन युद्ध अन्त्य हुने ठोस आधार हालसम्म नदेखिँदा आपूर्ति व्यवधान हट्ने सम्भावना अनिश्चित हुँदै गएको छ भने मध्यपूर्वमा जारी द्वन्द्वको अन्त्य अनिश्चित रहेको उनले उल्लेख गरिन् । यस्ता बाह्य कारणले गर्दा मुद्रास्फीति, वैदेशिक सहायता एवम् बाह्य क्षेत्र व्यवस्थापनमा चुनौती थपिने देखिएको ढुङ्गानाले बताएन् ।

प्रतिक्रिया