सोमबार, वैशाख १५, २०८२

राप्रपा नेता मिश्र र मेडिकल व्यवसायी प्रसाईंसहितलाई थप सात दिन हिरासतमा राख्न अनुमति

नेपालखोज २०८२ वैशाख १४ गते २१:२८

काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत २४ जनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

उनीहरूलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिएकामा अनुसन्धानका लागि सात दिन म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले भने २० दिनको म्याद मागेको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले सात दिन हिरासतमा राख्न अनुमति दिएको हो । यसअघि वैशाख १० गते तीन दिन मात्रै म्याद थप भएको थियो ।

गत चैत १५ गते भएको उक्त घटनामा पक्राउ गरी परिसरले अनुसन्धान गरिरहेको छ । घटनामा ८५ जनालाई पक्राउ गरिएकामा २१ जना हाजिर जमानीमा छुटेका छन्भने ६४ जनामाथि अनुसन्धान भइरहेको छ ।

तीमध्ये प्रसाईं र मिश्रलगायत २४ जनालाई राज्यविरुद्धको अपराध र सङ्गठित अपराधमा मुद्दा चलाइएको छ । बाँकीलाई भने आपराधिक उपद्रव र सङ्गठित अपराधमा मुद्दा चलाइएको छ ।

तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक हुँदा दुईजनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए । सरकारीलगायत निजी संरचनामा आगो लगाउने र तोडफोड गर्ने कामसमेत भएको थियो ।

प्रतिक्रिया